रौतहट बनाउने संकल्पसहित म चुनावी मैदानमा उत्रिएको हुँ, जनताको सेवा गर्छु : ऋषि धमला


काठमाडौं, २१ माघ । २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा रौतहट–४ मा आजपाका उम्मेदवार ऋषि धमला आजपनि विहानैदेखि घरदैलोमा सक्रिय छन् । उनी यतिवेला जनताका दुःख, पीर र मर्का बुझ्दै हिँडेका छन् । आफ्नो उम्मेदवारीको कारण र उद्देश्यपनि मतदाताहरुसँग प्रष्ट राख्ने गरेका छन् ।

उनले सो क्षेत्रमा शिक्षा र स्वास्थ्यमा दिगो विकास गर्ने आफ्नो मूल एजेण्डा भएको बताउने गरेका छन् । अहिले घरदैलोमा पनि उपचार नपाएका बालकदेखि वृद्धसम्मलाई उपचारको लागि पहल गर्ने काम गरेका छन् । किसानको खेतखेतमा पुगेर उनीहरुको समस्या बुझिरहेका छन् । सिचाईंको उचित व्यवस्था नहुँदा किसान ठूलो मारमा परेका छन् । धमला आज विहान सो क्षेत्रमा पर्ने वृन्दावन नगरपालिकाको वडा नम्बर ८ मा पुगेका छन् ।

उनले भने,‘यहाँका जनता ठूलो समस्यामा छन् । जनताले स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्नुपर्छ भनेर भन्नुभएको छ । यो क्षेत्रका जनता उपचारको लागि अहिलेपनि वीरगञ्ज जानुपर्ने बाध्यतामा हुनुहुन्छ, कि त हेटौंडा जानुपर्ने बाध्यतामा हुनुहुन्छ, काठमाडौं जानुपर्ने बाध्यतापनि छ । गुणस्तरीय स्वास्थ्य सेवा यहाँ छँदैछैन् ।’ धमलाले सो क्षेत्रमा शिक्षामा पनि उस्तै समस्या रहेको छ, जति स्वास्थ्य क्षेत्रमा छ । भौतिक पूर्वाधारको पनि उचित विकास नभएको उनको गुनासो छ ।

किसानले उचित समयमा मलखाद समेत नपाएको गुनासो गर्ने गरेको धमलाको भनाई छ । बेरोजगारी बढ्दो अवस्थामा हुँदा युवाहरु एकदमै निराश रहेको भन्दै सबैको मनोवल बढाउनेगरि काम गरिनुपर्ने उनले आवश्यकता औंल्याए । आफू रौतहट बनाउनको लागि चुनावी मैदानमा उत्रिएको भन्दै जनतासँग अपिल गरेका छन् । उनले रौतहट बनाउने योजना, सोच र संकल्पसहित आफू चुनावी मैदानमा उत्रिएको विश्वास दिलाए ।