काठमाडौं, २२ माघ । राष्ट्रिय मुक्ति पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टीको एकल चुनाव चिह्न जाँतो ‘चकिया’ लिएर सर्लाही–१ बाट उम्मेदवारी दिएका युवा नेता विकाशकुमार ठाकुरले आफ्नो जित सुनिश्चित् रहेको दाबी गरेका छन् । उनले अहिलेसम्म यस क्षेत्रबाट जितेर गएका जनप्रतिनिधिहरुले जनताको हितमा काम गर्न नसकेको र दुःख तथा सुखमा साथ नदिएको कारण आफू चुनावी मैदानमा ‘जनताको सेवक’ बन्नको लागि उभिएको दाबी गरे ।
उनले आफ्नो उम्मेदवारीबारे यसरी प्रष्ट्याए,‘अहिलेसम्म हाम्रो क्षेत्रका निर्वाचित जनप्रतिनिधिहरुले जनताका आवाज संसद्मा पुर्याएनन् । विकास निर्माणको काम गरेनन् । जनता रुष्ट थिए । यी सबै समस्याको समाधान गर्ने हिसाबले म चुनावी मैदानमा उत्रिएको छु, म जनतालाई सेवा दिनेगरि आएको छु । हरेक महिनामा पालिकामा आएर समस्या सुनेर सम्बन्धित निकायमा पुगेर ती समस्याको समाधानको लागि पहल गर्छु । यो मेरो वाचा हो । अर्को कुरा म आफूले गरेको वाचा पूरा गर्नेछु भनेर ल्याप्चे लगाउँछु । गरेको वाचा पूरा गर्छु ।’
सो क्षेत्रमा शिक्षा, स्वास्थ्य, रोजगारीसँगै भौतिक पूर्वाधारको विकास नै आफ्नो पहिलो प्राथमिकतामा रहेको ठाकुरको भनाई छ । उनले आफूले पछिल्लो एक दशक देशको राजनीतिकलाई नजिकबाट नियाँलेको र आफ्नो ठाउँबाट सकेको योगदानसमेत दिएको चर्चा गरे । आफ्नो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहुँच तथा सम्बन्ध भएको सुनाउँदै ठाकुरले आगामी दिनमा जनप्रतिनिधिको रुपमा राष्ट्रहितमा ठोस योगदान पुर्याउने वाचा गरे ।
सो क्षेत्रमा रहेका सरकारी अस्पताल र विद्यालयको भौतिक पूर्वाधारको विकासमा टेवा पुर्याउने पनि उनको घोषणा छ । आवश्यक ठाउँमा विद्यालय तथा अस्पताल निर्माण गर्नको लागि पहल गर्ने र भएका ठाउँमा गुणस्तरीय सेवा प्रवाहको लागि पहल गर्ने पनि उनको वाचा छ । उनले आफ्नो निर्वाचन क्षेत्रभित्रका हरेक विद्यालय र अस्पतालमा बस र सुविधासम्पन्न एम्बुलेन्सको व्यवस्था पनि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अब सर्लाही–१ मा परम्परागत हिसाबले राजनीति चल्न नदिनको लागि आफू चुनावी मैदानमा खडा भएको ठाकुरको उद्घोष छ । उनकाअनुसार अरु पार्टीका उम्मेदवार परीक्षित भैसकेको र असफल भैसकेका छन् । रास्वपालगायत अन्य नयाँ भनिएका दलबाट पनि टुरिष्ट उम्मेदवार रहेकोले यसपटक सर्लाही–१ मा आफूले जित्नेमा पूर्ण विश्वस्त रहेको ठाकुरको दाबी छ ।





प्रतिक्रिया