काठमाडौंमा भएका कार्यकर्तालाई निर्वाचन क्षेत्र फर्कन ओलीको निर्देशन, ‘एमालेले शानदार ढंगले निर्वाचन जित्छ, फिरङ्गीहरूलाई चिन्नुहोस्’’


काठमाडौं, २२ माघ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले शानदार ढंगले जित्ने दाबी गरेका छन् । उनले काठमाडौं बाहिर मतदाता नामावली भएका कार्यकर्तालाई निर्वाचन प्रचार प्रसारका लागि आफ्नो आफ्नो निर्वाचन क्षेत्र फर्कन निर्देशन दिए । पार्टीको झापा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समय निकालेर आफ्ना निर्वाचन क्षेत्रमा जान निर्देशन दिएको एमालेले जनाएको छ ।

उनले भनेका थिए,‘तपाईंहरू विभिन्न पेशा व्यवसाय गर्न काठमाडौं आउनु भएको छ । अहिले निर्वाचनको माहोल छ, समय निकालेर निर्वाचन क्षेत्र जानुहोस् । पार्टीको पक्षमा माहोल बनाउनुहोस् । आफन्त भेट्नुहोस् । साथीभाइसँग बस्नुहोस् । पार्टी र नेतृत्व विरुद्धका भ्रमहरू चिर्नुहोस् ।’ जहाजमा यात्रीको रूपमा चढेको व्यक्तिले जहाज चलाउँछु भन्ने कुरा असान्दर्भिक मात्र होइन, जोखिमपूर्ण पनि हुने उल्लेख गर्दै उनले विभिन्न व्यक्तिहरूले आफूलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा प्रचार गरिरहेको तर अनुभव नभएका र देश चलाउने सोचै नभएका व्यक्तिहरूबाट यस्तो कुरा सम्भव नहुने बताए ।

‘जहाजमा यात्रुको रूपमा रहेको व्यक्तिले म त जहाजै उडाउन सक्छु भनेर पाइलट सिटमा बस्यो भने के हुन्छ ’ अध्यक्ष ओलीले भने–‘त्यस्तो जहाजमा कोही चढ्लान् त ? झुक्किएर कोही चढिहाले भने उसको अवस्था के होला ? त्यसकारण अहिले सबैले सोचविचार गरेर निर्णय गर्नुपर्ने समय आएको छ ।’

ओलीले निर्वाचन शतप्रतिशत निष्पक्ष र धाँधलीरहित हुनुपर्नेमा जोड दिए । उनले भनेका थिए,‘निर्वाचनको तयारी निष्पक्ष, मतदान विना डर त्रास र प्रलोभनमा हुनुपर्दछ, मतपेटिका एक सेकेण्ड पनि पार्टीका प्रतिनिधिको अनदेखा हुनुहुँदैन । त्यसमा सबै चनाखो हुनुहोस ।’ ओलीले एमालेले निर्वाचन शानदार ढङ्गले जित्ने भएकाले सबै कार्यकर्तालाई उच्च मनोबलका साथ प्रचारमा लाग्न पनि निर्देशन दिएका छन् । ‘विभिन्न फिरङ्गीहरू आउन सक्छन् । त्यस्तालाई चिन्नुहोस्’ अध्यक्ष ओलीले भने–‘हामीले गरेका विकास निर्माणका काम, सुशासनका काम, जनचेतनाका काम जनतालाई भन्नुहोस् । मतदाताको मन जित्ने गरी काम गर्नुहोस् ।’