निश्चिन्त मान्नुस् चुनाव आयो, सबै ठाउँमा एकैदिन हुन्छः प्रधानमन्त्री कार्की


काठमाडौं, २२ माघ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर शान्तपूर्ण रुपमा एकैसाथ एकै चरणमा निर्वाचन सम्पन्न हुने बताएकी छन् । भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको प्रत्येक्षतर्फको मतपत्र छपाइ कार्यको स्थलगत अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले कुनै पनि जिल्लामा दोस्रो चरणमा मतदान नहुने बताईन् ।

‘मतपत्र छपाइ गरेको हरेर मलाई निकै उत्साह जागेर आयो । मतपत्र हेर्ने काम भयो, त्यो देखेर हामीलाई लाग्यो– निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ । प्रेसका कर्मचरीहरुले एकदमै राम्रो काम गर्नु भएको रहेछ,’– प्रधानमन्त्री कार्कीले भनिन् ।

निर्वाचनको चार खम्बामध्ये दुई खम्बा निर्वाचन आयोग रहेको उल्लेख गर्दै उनले देशभर निर्वाचनको माहोल बनेको बताईन् । ‘तपाईहरु निश्चिन्त मान्नुस्, चुनाव आयो, फरक पर्दैन, चुनाव एउटै र एकैदिनमा हुन्छ, दुई चोटी हुने वाला कहीँ छैन, एकै दिनमा हुन्छ, कहीँ कतै केही हुनेवाला छैन, तोकिएकै मितिमा चुनाव हुन्छ,’– प्रधानमन्त्री कार्कीले भनिन् ।

निर्वाचनको दिन फागुन २१ गते मौसम अनुकुल हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले सबै तिर राम्रो भएर आएको बताईन् । हामी सबैले मतदान गर्न पाउँछौँ भन्दै उनले मतदानको सबै नतिजा आएपछि नयाँ सरकार बन्ने र आफूहरु आफ्नो घर फर्कने बताईन् ।

‘अब राम्रो हुन्छ, हामी सबैले मतदान गर्न पाउँछौँ । त्यसको परिणाम आउँछ, त्यसपछि सरकार बन्छ । हामी थपक्क सरकार हस्तान्तरण गर्छौँ र आ–आफ्ना घरतिर जान्छौँ,’– उनले भनिन् ।