राष्ट्र निर्माणको ब्लुप्रिन्टका रूपमा खेम शर्माले लेखेका तीन पुस्तक एकसाथ सार्वजनिक, के छ अपिल ?


काठमाडौं, २३ माघ । नेपालवादका परिकल्पनाकार तथा सचेत नागरिक खेम शर्माले सुन्दर नेपालको परिकल्पना गरेर लेखेका तीन वटा पुस्तकहरु एकसाथ विमोचन गरिएको छ । ‘नेपालवाद’, ‘नागरिक प्रश्न’ र ‘नागरिक जिम्मेवारी’ नामका तीन पुस्तक आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर विमोचन गरिएको हो ।

शर्माले पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै यी पुस्तकले राष्ट्र निर्माणको लागि महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । उनले यो ब्लु–प्रिन्ट यात्रा गत जनवरी १ तारिखबाट सुरू भएको जानकारी दिए । उनले भने–‘यस ब्लूप्रिन्ट यात्राको औपचारिक सुरुआत १ जनवरी २०२६ देखि भएको थियो। उक्त दिनदेखि हामीले हरेक दिन राष्ट्रका आधारभूत विकास/शासन क्षेत्र (“पिलर”) मा केन्द्रित भएर लेखन र विचार–निर्माण गर्दै सार्वजनिक बहसलाई तथ्य र जिम्मेवारीतर्फ डोर्याउँदै आएका छौँ। यही क्रममा २५ जनवरीमा “नागरिक प्रश्न” तयार गर्यौ, २ फेब्रुअरीमा “नागरिक जिम्मेवारी” प्रस्तुत गर्यौ, र “नेपालवादः राष्ट्रिय नीति–विचार केन्द्र (परिकल्पना)” मार्फत दीर्घकालीन नीति–ज्ञान, अनुसन्धान, तथ्य–आधारित बहस र संस्थागत क्षमताको ढाँचा प्रस्ताव गर्यौ।’

सो क्रममा उनले जेन–जी आन्दोलनको पनि चर्चा गरेका थिए । उनले जेनजी आन्दोलन कुनै समूहको निजी अभियानमात्र नभएर यो सबै नेपालीको साझा चाहना, साझा पीडा तथा साझा आशाबाट जन्मिएको राष्ट्रिय जागरण भनेका छन् ।

शर्माले जेनजी आन्दोलनपछिका यो पाँच महिनाले आफूहरुलाई नेपाललाई अब सुन्दर नारा नभएर ठ्याक्कै के कुराको खाँचो छ भन्ने इमानदार पहिचान चाहिएको स्पष्ट पारेको पनि स्मरण गराए । उनले अघि थपे,‘त्यसको उत्तर भावनामा होइन, प्रमाण, मेहनत र जिम्मेवारीमा खोजिनुपर्छ। नेपालका हरेक आन्दोलन, त्याग र बलिदानको अन्तिम उद्देश्य एउटै थियो—नेपाललाई भ्रस्टाचार मुक्त, न्यायपूर्ण, सुरक्षित, सक्षम, सम्मानित र समृद्ध बनाउने। हामी त्यही साझा लक्ष्यलाई आजको भाषणमा होइन, आजको काम गर्ने तरिकामा उतार्ने संकल्पका साथ अघि बढिरहेका छौँ। त्यसैले हामी निरन्तर अध्ययन, लेखन, छलफल र सुझाव संकलन गर्दै आजको चरणमा आइपुगेका छौँ, र यस यात्रालाई नेपाललाई व्यवस्थित, जिम्मेवार र परिणाममुखी बनाउने राष्ट्रनिर्माण “ब्लूप्रिन्ट” को पहिलो चरणका रूपमा अघि सारेका छौँ।’

यी तीन वटै पुस्तक थुप्रै डटकममार्फत ई–बुकको रुपमा सार्वजनिक गरिएको छ । आगामी ६० देखि ७५ दिनभित्र देश तथा विश्वभरि छरिएर रहेका नेपालीहरुबाट थप सुझाव संकलन गरी यो ब्लुप्रिन्टलाई प्रिन्टेड बुक ः नेशन बिल्डिङ ब्लुप्रिन्ट (सेकेण्ड स्टेज) मा लैजाने पनि उनको प्रतिबद्धता छ । आज सार्वजनिक गरिएका तीन पुस्तकमध्ये पहिलो पुस्तक ‘नेपालवादः राष्ट्रिय नीति–विचार केन्द्र(परिकल्पना’मा दीर्घकालिन नीति–ज्ञान, अनुसन्धान, तथ्यमा आधारित बहस तथा संस्थागत क्षमताको एकीकृत ढाँचा हो । यस पुस्तकले २४ पिलरमा आजको देशको अवस्था, सुधार÷निर्माणका प्राथमिकता, र मिति–लक्ष्य–जिम्मेवारीको आधारमा नतिजा निकाल्ने स्पष्ट रुपरेखा दिनेछ ।

यस्तै, दोस्रो पुस्तक ‘नागरिक प्रश्न’ मा आज मत माग्न आउने र भोलि जनताका लागि काम गर्ने जिम्मेवारी लिने सबै उम्मेदवार तथा नेतासँग नागरिकले २४ पिलरमा सोध्नुपर्ने ११–११ मापनयोग्य प्रश्नः “कहिले? कति? कसले?” भन्ने कुरा समावेश गरिएको छ । यसले नागरिकले वास्तवमै खोजिरहेका सेवा, सुरक्षा, रोजगारी, शिक्षा–स्वास्थ्य, भ्रष्टाचार नियन्त्रण, समयमै काम, पारदर्शिता र सम्मानजस्ता अपेक्षालाई प्रश्नको ढाँचामा समेटेको छ । ताकी नेतृत्व मिति, लक्ष्य, बजेट, जिम्मेवारी र परिणाममा बाँधियोस् र सार्वजनिक जवाफदेहिता व्यवहारमै बलियो बनोस् भन्ने यसको लक्ष्य छ ।

यस्तै, तेस्रो पुस्तक ‘नागरिक जिम्मेवारी’ मा भने सफल राष्ट्र बनाउन आवश्यक २४ पिलरमा नागरिकका कम्तिमा ११÷११ वटा व्यवहारिक भूमिका समेटिएका छन् । पुस्तक देश केवल नेताले मात्र बनाउने होइन; नागरिकको दैनिक आचरण, सहभागिता र जिम्मेवारीले पनि राष्ट्रको दिशा तय गर्छ भन्ने मान्यताका साथ् यो तयार गरिएको हो। यसको उद्देश्य नागरिकलाई दोष लगाउनु होइन, सक्षम बनाउनु हो—सत्य–जाँच, नियम पालन, श्रम सम्मान, सार्वजनिक सम्पत्ति संरक्षण र नतिजा माग्ने संस्कारलाई व्यवहारमै उतार्न सहयोग गर्ने मार्गदर्शन दिनेछ ।

प्रेस विज्ञप्ति 

मिति: २३ माघ  २०८२    

आज २३ माघ २०८२  “जेन जी आन्दोलन” ले पाँच महिना पूरा गरेको प्रसङ्गमा हामीले विशेष प्रेस भेटघाट तथा तीन पुस्तक विमोचन कार्यक्रम आयोजना गर्दैछौँ। “जेन जी आन्दोलन” कुनै समूहको निजी अभियान मात्र थियन; यो सबै नेपालीको साझा चाहना, साझा पीडा र साझा आशाबाट जन्मिएको राष्ट्रिय जागरण थियो । नेतृत्व जेन जी पुस्ताले गरेको भए पनि यो अभियान परिवार, समाज र समुदायको सहमति तथा सहभागिताका साथ अगाडी बढेको थियो । घर–परिवारभित्र सबै सदस्यको अनुमति, साथ र भरोसा बिना कुनै पनि पुस्ता अघि बढ्दैन भन्ने मूल्यमा यो आन्दोलन उभिएको छ, ताकि परिवर्तन “केही व्यक्तिको सपना” मात्र होइन—“सबैको चाहना” भनेर स्थापित होस्।

यसै प्रसङ्गमा, हामी नेपालको इतिहासका प्रत्येक मोडमा राष्ट्रका लागि जीवन अर्पण गर्ने शहीद लखन थापादेखि “जेन जी आन्दोलन” सम्मका सम्पूर्ण ज्ञात–अज्ञात शहीद, योद्धा र राष्ट्रसेवकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ। राष्ट्र र जनताको पक्षमा उभिँदा घाइते तथा पीडित हुनुभएका सबैमा शीघ्र स्वास्थ्यलाभ, शारीरिक र मानसिक बल संगै धैर्य प्राप्त होस् भन्ने हार्दिक कामना पनि गर्दछौँ। साथै, पछिल्लो “जेन जी आन्दोलन” सम्बन्धी सत्य–तथ्य पत्ता लगाउन गठन गरिएको जाँचबुझ आयोगले निष्पक्ष, स्वतन्त्र र प्रमाणमा आधारित भयर आफ्नो प्रतिवेदन सार्वजनिक गर्नेछ भन्ने विश्वास व्यक्त गर्दछौँ, र आयोगका पदाधिकारी तथा सदस्यहरूले कुनैपनि किसिमको दबाब, पूर्वाग्रह वा प्रभावबाट बाहिर रही केवल तथ्य, प्रमाण र न्यायका आधारमा यथार्थ बाहिर ल्याई जनविश्वास अझ मजबुत बनाउने काम सम्पन्न गर्नुहुनेछ भन्ने अपेक्षा गर्दछौ।

यी पाँच महिनाले हामीलाई एउटा स्पष्ट निष्कर्षमा पुर्‍याएको छ—नेपाललाई अब सुन्दर नारा होइन, ठ्याक्कै के कुराको खाँचो छ भन्ने इमानदार पहिचान चाहियको छ, र त्यसको उत्तर भावनामा होइन, प्रमाण, मेहनत र जिम्मेवारीमा खोजिनुपर्छ। नेपालका हरेक आन्दोलन, त्याग र बलिदानको अन्तिम उद्देश्य एउटै थियो—नेपाललाई भ्रस्टाचार मुक्त, न्यायपूर्ण, सुरक्षित, सक्षम, सम्मानित र समृद्ध बनाउने। हामी त्यही साझा लक्ष्यलाई आजको भाषणमा होइन, आजको काम गर्ने तरिकामा उतार्ने संकल्पका साथ अघि बढिरहेका छौँ। त्यसैले हामी निरन्तर अध्ययन, लेखन, छलफल र सुझाव संकलन  गर्दै आजको चरणमा आइपुगेका छौँ, र यस यात्रालाई नेपाललाई व्यवस्थित, जिम्मेवार र परिणाममुखी बनाउने राष्ट्रनिर्माण “ब्लूप्रिन्ट” को पहिलो चरणका रूपमा अघि सारेका छौँ।

यस ब्लूप्रिन्ट यात्राको औपचारिक सुरुआत १ जनवरी २०२६ देखि भएको थियो। उक्त दिनदेखि हामीले हरेक दिन राष्ट्रका आधारभूत विकास/शासन क्षेत्र (“पिलर”) मा केन्द्रित भएर लेखन र विचार–निर्माण गर्दै सार्वजनिक बहसलाई तथ्य र जिम्मेवारीतर्फ डोर्‍याउँदै आएका छौँ। यही क्रममा २५ जनवरीमा “नागरिक प्रश्न” तयार गर्यौ, २ फेब्रुअरीमा “नागरिक जिम्मेवारी” प्रस्तुत गर्यौ, र “नेपालवाद: राष्ट्रिय नीति–विचार केन्द्र (परिकल्पना)” मार्फत दीर्घकालीन नीति–ज्ञान, अनुसन्धान, तथ्य–आधारित बहस र संस्थागत क्षमताको ढाँचा प्रस्ताव गर्यौ। 

सुरुमा १८ पिलरको परिकल्पना भए पनि नेपालभित्र तथा विश्वभर रहेका नेपाली दाजुभाइ–दिदीबहिनीहरूसँग विभिन्न क्षेत्र, पेसा र पुस्ताबाट सुझाव संकलन गर्दा २४ पिलर आवश्यक भन्ने निष्कर्षमा पुगेर यो सामग्री तयार गरिएको हो। हामी यसलाई अन्तिम मान्दैनौँ; यसलाई अझ कठोर, सान्दर्भिक र कार्यान्वयनयोग्य बनाउने खुला प्रक्रियाका रूपमा अघि बढाइरहेका छौँ।

अबको अर्को कदम स्पष्ट रुपमा भन्न चाहन्छौ—नेपाल र विश्वभर रहेका नेपालीबाट थप सुझाव संकलन गरी ६० देखि ७५ दिनभित्र यो ब्लूप्रिन्टलाई “Printed Book: Nation-building Blueprint (Second Stage)” मा लैजाने हाम्रो प्रतिबद्धता ब्यक्त गर्दछौ। अहिलेका लागि ३ ओटै पुस्तक  thuprai.com मार्फत eBook को रूपमा सार्वजनिक गरिएको छ। सबै नेपाली नागरिक, युवापुस्ता, विज्ञ, शिक्षक, कर्मचारी, उद्यमी, श्रमिक, किसान, विद्यार्थी तथा प्रवासी नेपालीहरूसँग हाम्रो विनम्र अनुरोध छ—कृपया पढिदिनुहोस्, प्रश्न गर्नुहोस्  र सुझाव दिनुहोस्। यो ब्लूप्रिन्ट सबै नेपालीको साझा परियोजना हो, र तपाईंहरूको सुझावले मात्र यसलाई अझ मजबुत र लागू हुने बनाउँन सकिन्छ।

यस प्रसङ्गमा विमोचन हुने तीन पुस्तकहरू निम्न छन्: 

१) “नेपालवाद: राष्ट्रिय नीति–विचार केन्द्र (परिकल्पना)” — दीर्घकालीन नीति–ज्ञान, अनुसन्धान, तथ्य–आधारित बहस र संस्थागत क्षमताको एकीकृत ढाँचा हो। यस पुस्तकले २४ पिलरमा आज देशको अवस्था, सुधार/निर्माणका प्राथमिकता, र मिति–लक्ष्य–जिम्मेवारीका आधारमा नतिजा निकाल्ने स्पष्ट रूपरेखा दिन्छ, ताकि राष्ट्रनिर्माण अब “भाषण” होइन—ब्लूप्रिन्ट बनोस्। नेपालवाद कुनै पार्टी होइन; यो नेपालको आफ्नै अनुभव, भौगोलिक संवेदनशीलता, सामाजिक बहुलता र राष्ट्रिय हितबाट जन्मिएको राष्ट्रिय चिन्तन हो, जसले आधुनिक लोकतन्त्र भित्र न्याय, समावेशिता र दीर्घकालीन सामञ्जस्यलाई अघि बढाउने दिशा दिन्छ।

२) “नागरिक प्रश्न” — आज मत माग्न आउने र भोलि जनताका लागि काम गर्ने जिम्मेवारी लिने सबै उम्मेदवार तथा नेतासँग नागरिकले २४ पिलरमा सोध्नुपर्ने ११–११ मापनयोग्य प्रश्न: “कहिले? कति? कसले?”। यसले नागरिकले वास्तवमै खोजिरहेका सेवा, सुरक्षा, रोजगारी, शिक्षा–स्वास्थ्य, भ्रष्टाचार नियन्त्रण, समयमै काम, पारदर्शिता र सम्मानजस्ता अपेक्षालाई प्रश्नको ढाँचामा समेट्छ, ताकि नेतृत्व मिति, लक्ष्य, बजेट, जिम्मेवारी र परिणाममा बाँधियोस् र सार्वजनिक जवाफदेहिता व्यवहारमै बलियो बनोस्।

३) “नागरिक जिम्मेवारी” — सफल राष्ट्र बनाउन आवश्यक २४ पिलरमा नागरिकका कम्तीमा ११–११ व्यवहारिक भूमिका समेटिएको पुस्तक हो। देश केवल नेताले मात्र बनाउने होइन; नागरिकको दैनिक आचरण, सहभागिता र जिम्मेवारीले पनि राष्ट्रको दिशा तय गर्छ भन्ने मान्यताका साथ् यो तयार गरिएको हो। यसको उद्देश्य नागरिकलाई दोष लगाउनु होइन, सक्षम बनाउनु हो—सत्य–जाँच, नियम पालन, श्रम सम्मान, सार्वजनिक सम्पत्ति संरक्षण र नतिजा माग्ने संस्कारलाई व्यवहारमै उतार्न सहयोग गर्ने मार्गदर्शन दिनु हो।

हामी सञ्चारकर्मी, नागरिक समाज, युवापुस्ता, विज्ञ तथा सरोकारवालाहरूलाई आजको कार्यक्रमको उद्देश्यअनुरूप आ-आफ्नो ठाउबाट सहभागिता जनाई यो प्रयासलाई नजिकबाट बुझ्न, प्रश्न गर्न, सुझाव दिन र सहयात्रि बन्न हार्दिक निमन्त्रणा गर्दछौँ। पत्रकार मित्रहरूलाई तथ्य–आधारित बहस प्रवर्द्धन गर्न, सार्वजनिक जवाफदेहिताको संस्कृति बलियो बनाउन, र सामग्री नागरिकसम्म प्रभावकारी रूपमा पुर्‍याउन विशेष अनुरोध गर्दछौँ। साथै शिक्षक, कर्मचारी, उद्यमी, किसान, श्रमिक, विद्यार्थी, कलाकार, अभियन्ता, प्रवासी नेपाली तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण आमा–बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई पनि म यही आग्रह गर्न चाहन्छु कि यो ब्लूप्रिन्ट पढिदिनुहोस्, आलोचनात्मक सुझाव दिनुहोस्, र आवश्यक परे थप कडा प्रश्नहरू पनि थपिदिनुहोस्, किनकि हाम्रो भविष्य हामी सबैले मिलेर बनाउने साझा दायित्व हो। हाम्रो लक्ष्य स्पष्ट छ—देशमा “कुनै दिन” होइन, आजैबाट सकारात्मक परिबर्तन आउन थालोस्; परिवर्तन भाषणमा होइन, नियम, मापन र उत्तरदायित्वमा देखियोस्, अहि हाम्रो चाहना हो ।

साथै, आजै यी तीनै पुस्तकहरू निर्वाचन आयोगमा दर्ता रहेका १३६ ओटै राजनीतिक दलहरूलाई औपचारिक रूपमा ईमेल मार्फत पठाउँदैछौँ। यसको उद्देश्य कुनै दललाई पक्ष–विपक्ष बनाउनु होइन; देशको यथार्थ, नागरिकको अपेक्षा र जनताको मनोभाव सबै नेतृत्वले एउटै ऐनामा देखुन भन्ने हो। दलहरूले घोषणापत्र बनाउँदा नारा र आश्वासनमा सीमित नरही “कहिले? कति? कसले?” भन्ने मापदण्डमा आधारित स्पष्ट लक्ष्य, बजेट, समयसीमा, जिम्मेवारी र परिणामसहितको जनउत्तरदायी रोडम्याप बनाउन सकून् भन्ने हाम्रो अपेक्षा हो।

यसै सन्दर्भमा, वर्तमान सरकार, आगामी दिनमा बन्ने नयाँ सरकार, सबै राजनीतिक दल, उम्मेदवार तथा नीति–निर्मातालाई हामी खुला हृदयका साथ्  जानकारी गराउन चाहन्छौँ—नेपाललाई साँच्चै अघि बढाउने साझा उद्देश्यका लागि चाहिने ठाउँमा हामी पूर्ण रूपमा सहकार्य गर्न तयार छौँ। यो अभियान कसैलाई घेराबन्दी गर्न होइन, देशलाइ उठाउनको लागि हो; कसैको श्रेय खोस्न होइन, नागरिकको भरोसा फर्काउनको लागि हो। नीतिमा स्पष्टता, मापनयोग्य लक्ष्य, समयसीमा, कार्यान्वयन प्रणाली, सार्वजनिक जवाफदेहिता वा नागरिकसँग संवादको ढाँचा बनाउन सहयोग चाहनुहुन्छ भने हामि सहयोग गर्न तयार छौ—हामी आलोचक मात्र होइन, समाधानमा साथ दिने जिम्मेवार सहयात्री बन्न तयार छौँ।

साथै, हामी नेपालभित्र र विश्वभर छरिएका चिन्तनशील नेपाली, विषय–विशेषज्ञ, अनुसन्धानकर्ता, प्राविधिक, उद्यमी, शिक्षक, नीति–विश्लेषक र अनुभवी राष्ट्रसेवकहरूलाइ समेटेर नेपालवाद: राष्ट्रिय नीति–विचार केन्द्र  निर्माण गर्ने अभियान आजैदेखि औपचारिक रूपमा अघि बढदैछौँ । तपाईंको ज्ञान, सीप र अनुभव कुन पिलरमा उपयोगी हुन्छ भन्ने आधारमा टिम संयोजन गरी व्यवहारिक र मापनयोग्य ब्लूप्रिन्ट तयार पारिनेछ, र त्यसलाई नेतृत्वसम्म पुर्‍याएर समयसीमा आधारित र परिणाममुखी शासनको माग संस्थागत बनाउने छौ। सहभागी हुन: [email protected]

 वा WhatsApp: +९७७ ९८२८४८३२६५ मार्फत सम्पर्क गर्न पनि आब्हान गर्दछौ। 

यस अभियानको संगठनात्मक परिकल्पना वडादेखि नगर/पालिका, प्रदेश र केन्द्रसम्म मात्र सीमित छैन; विदेशमा रहेका नेपालीसमेत जोडिने गरी देश–स्टेट–रिजन संरचनामा पनि विस्तार हुनेछ। हरेक २४ पिलरमा न्यूनतम ३ जनाको “कोर समूह” बनाइनेछ, र त्यो समूह तीन पुस्ताको सहभागिता हुनेछ (जेष्ठको अनुभव, मध्य–पुस्ताको नेतृत्व, युवा पुस्ताको ऊर्जा/प्रविधि) लाई एउटै टिममा बाँधेर तयार गरिनेछ। यसबाट हामी नागरिकको छायाँ सरकार जस्तो रचनात्मक प्रमुख प्रतिपक्ष बनेर जिम्मेबार व्यक्ति/संस्था ले गरेका राम्रो कामलाई समर्थन गर्ने, गलत कामलाई प्रमाणसहित प्रश्न गर्ने, र नेतृत्वलाई स्पष्ट सन्देश दिनेछौँ—“हामीले हेरिरहेका छौँ, र नतिजा मागिरहेका छौँ।”

यो कार्यक्रमसँगै हामी “नेपालवाद: राष्ट्रिय नीति–विचार केन्द्र कोष” को अवधारणा पनि सार्वजनिक गर्नेछौँ। कार्यक्रम/पुस्तकबाट उठ्ने सम्पूर्ण सहयोग/आय “नेपालवाद: राष्ट्रिय नीति–विचार केन्द्र कोष” अन्तर्गत स्पष्ट नियम, पारदर्शी लेखा, नियमित सार्वजनिक प्रतिवेदन र मापनयोग्य नतिजा भएको संरचनामार्फत एक–एक रुपैयाँको जवाफदेहितासहित मात्र उपयोग गरिनेछ। 

नागरिकले बुझ्ने गरी खर्च पाँच शीर्षकमा केन्द्रित हुनेछ। (१) २४ पिलरमा अनुसन्धान, तथ्य संकलन र नीति–विश्लेषण, (२) युवाको नेतृत्व, सीप र नवप्रवर्तन कार्यक्रम, (३) छायाँ नेतृत्व टिम गठन तथा कार्यसम्पादन ट्र्याकिङ, (४) नेपालवाद वेबसाइट/डाटा–ड्यासबोर्ड/ज्ञान–सङ्ग्रह निर्माण, र (५) नागरिक–केन्द्रित software demo लगायत सार्वजनिक जवाफदेहिता मजबुत बनाउने प्रणाली विकास। यो कोष कुनै एक चुनावको तयारी होइन; राष्ट्रनिर्माणका दीर्घकालीन पहललाई सम्हाल्ने स्थायी आधार हो। हामी नागरिकसँग एउटा वाचा गर्छौँ—यहाँ योगदानको एक पैसा पनि हराउँदैन; त्यो पैसा नतिजा भएर फर्किन्छ, र खर्च तथा नतिजाको विवरण नियमित रूपमा सार्वजनिक गरिनेछ।

परिवर्तनको माग गर्नु अघि, हामी आफैँले आफ्नो हिस्साको इमानदारी देखाउनुपर्छ। आजैबाट सुरु गरौँ—सानो देखिने तर देशलाई सिधै छुने एउटा नियम: सामान किन्दा होस् वा सेवा लिँदा, कागजी वा डिजिटल—जुन रूपमा भए पनि, अधिकृत बिल अनिवार्य मागौँ। बिल माग्नु कसैलाई अप्ठ्यारो पार्नु होइन, झगडा गर्नु होइन; यो त आफ्नो आत्मसम्मान र नागरिक अधिकारको सरल घोषणा हो—“म नियममा उभिएको छु, र देशको पैसा सही ठाउँमै पुग्नुपर्छ।”

यही एउटा बानीले धेरै ठूला ढोका खोल्छ। बिल मागिँदा कालो पैसा कमजोर हुन्छ, चोरी–छलीको बाटो बन्द हुन्छ, कर प्रणाली बलियो हुन्छ, र इमानदार व्यापारी/कर्मचारीको हात बलियो हुन्छ। आजको एउटा बिलले भोलिको विद्यालय, अस्पताल, सडक र रोजगारीको आधार बनाउँछ। त्यसैले आजबाट एउटै प्रण गरौँ—बिल मागौँ, अनुशासन बसालौँ, र “म देश बदल्छु” भन्ने कुरा भाषण होइन, बानीबाट प्रमाणित गरौँ।यो  नागरिक जिम्मेबारी पुस्तकको २६४ मध्येको एक जिम्मेबारी हो। 

अन्तयमा, हामीले धेरै जिम्मेवार व्यक्तिहरूबाट बारम्बार सुनेका छौँ—

“म नेपाल हाँसेको हेर्न  चाहन्छु।” हामी पनि यही चाहन्छौँ। तर नेपाललाई बाहिरबाट कोही आएर हँसाउँदैन र  येति काम गर्न हामीले  कुर्नु पर्दैन। यदि यी सामग्री पढेर, बहस गरेर, अभ्यास गरेर नेतृत्वलाई जवाफदेही बनायौँ, र आफू पनि जिम्मेवार भयौँ भने, हामी आफैँ मिलेर नेपाललाई हँसाउन सक्छौँ र त्यसको सुरुवात आजैबाट तपाई हामि मिलेर गरौ भन्ने कुरा म प्रस्ट रुपमा भन्न चाहन्छु। 

धन्यबाद 

खेम शर्मा 

WhatsApp: +977 9828483265Email: [email protected]