वडास्तरमै आधारभूत स्वास्थ्य सेवा केन्द्र, तर सामान्य उपचारका लागि अस्पताल जानेको सङ्ख्या घटेन


देवदह (रूपन्देही), २४ माघ । नेपालको संविधान २०७२ ले स्वास्थ्य सेवालाई मौलिक हकअन्तर्गत समावेश गरेको छ । सङ्घ, प्रदेश र स्थानीय सरकारमार्फत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने नीति अघि बढाइएको छ ।

यही नीतिअनुरूप रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाको वडास्तरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रहरू स्थापना गरिएको छ । नागरिकलाई सामान्य उपचार, खोप, मातृ तथा शिशु स्वास्थ्य, परिवार नियोजनलगायत सेवा घरदैलो नजिकै उपलब्ध गराउने उद्देश्यले यी सेवा केन्द्रहरू स्थापना गरिएको हो । तर, यी स्वास्थ्य केन्द्रहरूमा भने अपेक्षित रूपमा सेवाग्राहीले सेवा लिएका छैनन् ।

वडा तहमा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा रहेकै अवस्थामा भैरहवास्थित जिल्ला अस्पताल (भीम अस्पताल) लगायत यहाँका निजी क्लिनिक तथा ठूला अस्पतालमा बिरामीको भीड घट्न सकेको छैन । त्यसको साटो दैनिक सयौँ बिरामी उपचारका लागि भीम अस्पताललगायत यहाँका ठूला अस्पताल र क्लिनिकमै पुग्ने गरेका छन् । सरकारी अस्पतालमा सीमित जनशक्ति र स्रोतसाधन हुँदा यहाँ बिरामीको चाप बढ्ने वित्तिकै चुनौती थपिन्छ ।

१३ वटा वडाहरू रहेको सिद्धार्थनगर नगरपालिकामा हाल नौ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा छन् । वडा नम्बर १, ३, ४, ५, ६, ७, ९, १० र ११ मा रहेका केन्द्रहरूबाट सेवा दिइँदै आएको छ । वडा नम्बर २, ८, १२ र १३ मा अझै स्वास्थ्य केन्द्र स्थापना हुन सकेका छैनन् । सञ्चालनमा रहेका ती केन्द्रबाट दैनिक औसत १५ देखि १८ जनासम्म सेवाग्राहीले सेवा लिँदै आएका छन् ।

सिद्धार्थनगर नगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख माधवप्रसाद ज्ञवालीका अनुसार आधारभूत स्वास्थ्य केन्द्रमार्फत रोकथाममूलक, प्रवर्द्धनात्मक र उपचारात्मक सेवा निःशुल्क प्रदान गरिँदै आएको छ । परिवार नियोजन, खोप, क्षयरोग, कुष्ठरोग, मलेरिया, पोषण, सुरक्षित मातृत्व, स्वास्थ्य शिक्षा तथा सामान्य उपचार सेवा यी केन्द्रका मुख्य कार्यक्रम हुन् ।

हरेक स्वास्थ्य केन्द्रमा सामान्यतया दुई जना प्राविधिक कर्मचारी (अहेब र अनमी) र एकजना कार्यालय सहयोगी गरी तीन जनाले सेवा दिइरहेका छन् । यद्यपि वडा नम्बर ५ मा भने अनमी र कार्यालय सहयोगी गरी दुई जनाले मात्र सेवा दिइरहेका छन् । ती सबै कर्मचारी अस्थायी करार दरबन्दीमा कार्यरत छन् । सार्वजनिक बिदाबाहेक बिहान १० बजेदेखि साँझ ४–५ बजेसम्म यहाँबाट सेवा प्रदान हुँदै आएको छ ।

नगरपालिकाले समुदायस्तरमै स्वास्थ्य सचेतना बढाउने उद्देश्यले आमा समूह, विद्यालय र समुदायमा स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रत्येक महिनाको ११ वा १२ गते नियमित खोप सेवा प्रदान हुँदै आएको छ । परिवार नियोजन, क्षयरोग, कुष्ठरोग तथा सामान्य चिकित्सा सेवा दैनिक रूपमा उपलब्ध छ । मलेरिया रोगको शङ्का देखिएमा घरमै पुगेर सेवा दिने, समुदायलाई सचेत बनाउने कार्यक्रमसमेत सञ्चालनमा छ ।

रक्तचाप परीक्षण, शरीरको तौल नाप्नेलगायत सामान्य उपचारका लागि अस्पताल जान नपर्ने अस्पतालसम्म पुग्न नपर्ने स्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख ज्ञवालीले बताए । सामान्य उपचार सेवाका लागि नजिकको स्वास्थ्य केन्द्रमा पुग्न उनले आग्रह गरे । “वडास्तरमै पुगेर सामान्य उपचार सेवा लिन सकिए अस्पतालहरूमा बिरामीको चाप पनि घट्छ”, उनले भने ।

पोषण कार्यक्रमअन्तर्गत ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण, घरघरमा पुगेर तौल जाँच, (स्क्रिनिङ) अभियान सञ्चालन भइरहेको छ । सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत गर्भवती जाँच, सुत्केरीपछि तेस्रो दिन र ७ देखि १४ दिनभित्र थप एकपटक गरी जम्मा दुईपटक घरमै पुगेर आमा तथा नवजात शिशुको स्वास्थ्य परीक्षण गरिँदै आएको छ । ज्वरो, रुघाखोकी, पखाला, प्रेसर जाँच, घाउचोट, दाँत दुख्ने, मुख सुन्निनेजस्ता सामान्य उपचार सेवा केन्द्रबाटै दिइन्छ ।

स्वास्थ्य केन्द्रमा हाल ८९ किसिमका औषधि सूचीमा रहे पनि खोप, क्षयरोग, कुष्ठरोग, मलेरिया र परिवार नियोजनबाहेकका ५१ किसिमका औषधि उपलब्ध छन् । सिद्धार्थनगरका अधिकांश वडा बजार क्षेत्रमै पर्छन् । जिल्ला सदरमुकाम भएकाले यहाँ जिल्ला अस्पताल, निजी अस्पताल तथा क्लिनिकको सङ्ख्या उल्लेख्य छ । विशेषज्ञ सेवा लिनु परे सरकारीभन्दा केही खर्चिलो भए ठूला अस्पतालमै जाने प्रवृत्ति छ ।

सरकारी स्वास्थ्य केन्द्रप्रति विश्वासको कमी र ‘ठूलो अस्पतालमै राम्रो उपचार हुन्छ’ भन्ने मानसिकता स्वास्थ्य केन्द्र उपयोग नबढ्नुको प्रमुख कारण मानिन्छ । तथ्याङ्कले यो कुराको पुष्टि गर्छ । नगर स्वास्थ्य प्रणालीमा डाटा इन्ट्री भएका आधारभूत स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल र नगरभित्र सञ्चालित करिब ४० वटा अस्पतालबाट गत आर्थिक वर्ष २०८१÷८२ मा कूल चार लाख ८२ हजार ८८९ जनाले स्वास्थ्य सेवा लिएका छन् । तीमध्ये नगरपालिकाले सञ्चालन गरेका आधारभूत स्वास्थ्य केन्द्रबाट सेवा लिनेको सङ्ख्या २१ हजार ६९६ मात्र छ ।

स्थानीय तहले स्वास्थ्य सेवा पहुँच विस्तारमा लगानी बढाए सेवा उपयोग र विश्वास अभिवृद्धि नहुँदा ठूला अस्पतालमा बिरामीको भीड यथावत् देखिन्छ । स्वास्थ्य केन्द्रको सेवा गुणस्तर, जनशक्ति, औषधि उपलब्धता र जनविश्वास एकैसाथ सुधार नगरेसम्म ‘घर नजिकै उपचार’ को अवधारणा व्यवहारमा पूर्णरूपमा लागू हुन कठिन देखिन्छ ।

भीम अस्पतालमा दैनिक ५०० जनासम्म बिरामीले ओपिडी सेवा लिने गरेको अस्पताल प्रमुख डा वर्षा थापाले जानकारी दिए । अस्पतालका अनुसार गत आर्थिक वर्ष २०८१÷८२ मा यहाँबाट एक लाख २० हजारभन्दा बढीले बहिरङ्ग (ओपिडी) सेवा लिएका थिए । त्यस्तै आव २०८०÷८१ मा एक लाख १२ हजार ८४५, आव २०७९÷८० मा मा ९० हजार र आव २०७८÷७९ मा ६३ हजारले ओपिडी सेवा लिएका थिए ।

विगत चार वर्षको तथ्याङ्कले सेवाग्राहीको सङ्ख्या क्रमश बढेको देखिन्छ । यसले प्राथमिक तहको सेवा विस्तार भए पनि अस्पतालको भार घट्न नसकेको स्पष्ट हुन्छ । यहाँका ठूला अस्पतालमा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज र सिद्धार्थनगर सिटी हस्पिटलमा बिरामीको चाप नै छ । भीम अस्पतालमा आव २०७७र७८ देखि स्वास्थ्य बिमा सुरुवात गरिएको थियो ।

स्वास्थ्य बिमा, विशेषज्ञ सेवा, २४ सै घण्टा सेवालगायत कारण अस्पतालमा सेवाग्राहीको घुइँचो हुने गरेको अस्पतालले जनाएको छ । सामान्य स्वास्थ्य उपचारका लागि पनि अस्पतालमै जानबाट रोक्नका लागि वडास्थित आधारभूत स्वास्थ्य केन्द्रहरूमा पाइने सेवाका बारेमा नागरिकलाई सूचना पु¥याउनुपर्ने र सरकारी अस्पतालमा विश्वास दिलाउनका लागि सम्बन्धित निकायले बुझाउन सक्नुपर्ने अस्पताल प्रमुख डा थापाको भनाइ छ ।

“यसो गर्न सके सामान्य उपचारकै लागि भीम अस्पतालमा आउने बिरामीले स्थानीय स्वास्थ्य केन्द्रबाट उपचार लिने अवस्था सिर्जना हुने र अस्पतालमा भीड घट्ने थियो”, उनले भने ।

अस्पतालमा र स्वास्थ्य केन्द्रमा के का लागि जाने भन्ने सूचना सम्प्रेषण गर्न सके सेवाग्राही र सेवा प्रदायक संस्था दुवैलाई सहज हुने डा थापाको भनाइ छ । सिद्धार्थनगर सिटी हस्पिटल प्रालिमा दैनिक १०० जनाले ओपिडी सेवा लिने गरेको प्रबन्ध निर्देशक अर्जुन पौडेलले जानकारी दिए । उनका अनुसार सामान्य किसिमका बिरामीभन्दा विशेषज्ञ सेवा लिनका लागि बिरामी यहाँ आउने गरेका छन् । जनमानसमा अझै स्वास्थ्यको विषयमा अस्पतालमै जाऔँ र विशेषज्ञ सेवा लिऔँ भन्ने धारणाले बिरामी आएको बुझिन्छ ।

सिद्धार्थनगर नगरपालिका–९ का वडा सदस्य वसन्त भट्टराईले वडामार्फत विभिन्न सचेतना कार्यक्रम गरिएको र आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट प्रदान हुने सेवाका बारेमा वडावासीलाई जानकारी नभएको भन्ने कुरामा सत्यता नरहेको बताए । उनले वडा नम्बर ९ को ६ वटा क्षेत्रमा (प्रतिक्षेत्रमा) २–२ जनाको दरले १२ जना महिला स्वास्थ्य स्वयंसेविका घरदैलोमा खटिरहेको बताए । ज्येष्ठ नागरिकलाई वर्षको एकपटक घरमै बसेर स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराइएको उनले जानकारी दिए । समयसमयमा विभिन्न सङ्घ–संस्थाहरूले वडास्तरमा स्वास्थ्य शिविर सञ्चालन गरिरहेको उनले बताए ।

आधारभूत स्वास्थ्य सेवा केन्द्र सिद्धार्थनगर–९ को इञ्चार्ज सिनियर अनमी निरीक्षक सरिता पाण्डेका अनुसार औसतमा दैनिक ३५ जना सेवाग्राही यहाँ आउने गरेका छन् । यहाँबाट विशेष गरी निःशुल्क औषधि वितरण, परामर्श, रिफर, प्राथमिक उपचार सेवा, घरभेट कार्यक्रम बढी गरिएको जानकारी दिए ।

आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट बालबालिका खोप, परिवार योजना, गर्भवती, सुत्केरी जाँच, बालबालिकाको तौल वृद्धि अनुगमन जाँच, जेष्ठ नागरिक सेवा लगायतका सेवा उपलब्ध गराइएको सिद्धार्थनगर नगरपालिलका वडा नम्बर ५ का वडाअध्यक्ष पुरनप्रसाद श्रेष्ठले बताए । सामान्य स्वास्थ्य समस्या र परामर्शका लागि अस्पताल÷क्लिनिकमा जानुपर्ने बाध्यतालाई अन्त्य गर्न र वडाबासीलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको उनले बताए । उनले स्वास्थ्य केन्द्रबाट वडारनगरवासी मात्रै नभइ अन्य पालिकावासीले सेवा लिन सक्ने बताए । आधारभूत स्वास्थ्यसम्बन्धी सम्पूर्ण सेवा केन्द्रबाटै दिने व्यवस्था रहेको उनको भनाइ छ ।

भैरहवामा अस्पतालका साथै धेरै निजी क्लिनिकहरू छन् । धेरैले छोटो समयमै परीक्षण, निजी चिकित्सकको पहुँच, सुविधारसुविधाजनक सेवा, बिदाको दिन सेवा, जस्ता कारणले बिरामी निजी स्वास्थ्य संस्थामा जाने गरेका छन् । ‘छोटो समय, छिटो उपचार’ यसले सरकारी अस्पतालको भीड घट्न नदिएको छ, किनकी निजी सेवाले ‘छोटो समय, छिटो उपचार’ भन्ने बुझाइ रहेको देखिन्छ ।

सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले प्राथमिक र सामान्य उपचारका लागि वडास्तरीय आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना भएको बताए। उनले कार्यालय समयमा मात्र सेवा प्रवाह हुने कारणले बिरामी अस्पतालमा पुगेको हुन सक्ने बताए । महिला स्वास्थ्य स्वयंसेविकाहरूले आधारभूत स्वास्थ्य सेवा केन्द्रमार्फत खोप लगाउने, सुत्केरी महिलालाई परामर्शलगायत सेवा घरघर पुगेर प्रदान गरिरहेको बताए ।

सार्वजनिक बिदाको दिन बन्द हुनु, खुलेको दिन कार्यालय समयमा मात्र उपचार सेवा उपलब्ध हुनु, विशेषज्ञ सेवा प्रदान नहुनु, जनशक्तिको अभाव औषधिको अभाव (सरकारी नियमअनुसार टेण्डर प्रक्रिया र औषधि आउनमा ढिलाइ भएकाले कारणले समयमै स्वास्थ्य केन्द्रमा औषधि पुग्न नसक्नु) वडास्तरमा रहेको आधारभूत स्वास्थ्य केन्द्रप्रति जनतालाई विश्वस्त नगर्नुका कारण सेवाग्राहीहरू अपेक्षित रूपमा यहाँ बिरामी पुग्न सकेका छैनन् । जसका कारण अस्पतालमा बिरामीको चाप बढ्दो क्रममा छ ।

सिद्धार्थनगर नगरपालिका–३ का गोपाल भण्डारीले वडास्तरमा सञ्चालित आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट प्रदान हुने सेवाबारे वडा तहमा सबै नागरिकलाई जानकारी गराउनुपर्ने बताए । यसो गर्न सकिए अस्पतालमा बिरामीको चाप घट्ने भण्डारीले बताए । -रवीन्द्रप्रताप गुप्ता/रासस