काठमाडौं, २४ माघ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ भन्नेहरुको पुच्छर र शीर कहाँ छ भन्ने कुरा कुनै थाहा नभएको भन्दै रास्वपाप्रति कडा टिप्पणी गरेका छन् । आज (शनिबार) काठमाडौंमा वित्तीय संस्था कर्मचारी समाजले आयोजन गरेको कार्यक्रममा बोल्दै डा. महतले यस्तो बताएका हुन् ।
उनले भने, ‘अहिले नयाँ पार्टी भनेर आयो। उनीहरूको पुच्छर कहाँ छ, शिर कहाँ छ थाहा छैन। कुन दुलोबाट बाहिर निस्किन्छ, कुन दुलोबाट भित्र पस्छ, त्यो पनि थाहा छैन। सामाजिक सञ्जालले, भर्चुअल रियालिटी, दक्षिण भारतीय सिनेमा तपाईँहरूले हेर्नुभाछ, एउटा हिरोले उसले पचासौँ जनालाई एकै पटक हावामा उडाइराजस्तरी पछार्दिन्छ। त्यो चाहिँ भर्चुअल दुनियाँ हो। रियल दुनियाँमा ५० जनालाई पछार्छ रु एक/दुई जनालाई पनि के हो के हो थाहा छैन। त्यसो हुनाले हामी रियल दुनियाँमा बाँचिराछौँ। यो रियल दुनियाँ भनेको हाम्रो दैनिक आवश्यकता छ । सुरक्षाको कुरा छ । आवातजावात, शिक्षा, स्वास्थ्य, खानेपानीको कुरा छ । दैनिक हामी जुधिरहेका छौं । त्यसलाई माथि उठाउने कुरा हो । त्यो हाम्रो चिन्ता हो । हामी त रियालिटीको दुनियाँमा छौं । भर्चुअल दुनियाँको त एउटा झुठलाई पनि सत्यजस्तो प्रचार गर्ने, विपीले त उहिल्यै भन्नुभएको थियो कि जब सत्यको मुख बन्द हुन्छ, तब झुटोको थुतुनो चल्छ भनेर भन्नुभएको थियो । अहिले त सामाजिक सञ्जालले बोल्न झन सजिलो पार्यो ।’
सम्बोधनको क्रममा उनले आफ्ना दाजु पूर्व अर्थमन्त्री डा. रामशरण महतको पनि चर्चा गरेका थिए । उनले काठमाडौंसँग नजिकै भएपनि नुवाकोट जिल्ला बत्तिमुनिको अँध्यारोको अवस्थामा रहेपनि रामशरण महतकै पहलमा नुवाकोटको विकास भएको स्मरण गराए । आफू अर्थमन्त्री हुँदा पनि बजेटको उचित उपयोग गरेको उनको दाबी छ । सुशासनलाई नम्बर वान ठाउँमा राख्ने कुरामा आफू दत्तचित्त भएर लागिपरेको उनले स्मरण गराए । आफूले जिम्मेवारी पाउँदा शतप्रतिशत नतिजा दिने गरेको पनि उनले दाबी गरे । आफू सरकारमा पुग्दा पनि कर्मचारीतन्त्रमा पनि राम्रै छाप छोडेको महतको दाबी छ ।
उनले भने,‘यहाँ सुशासनको कुरा आएको छ, म यसमा हिजो पनि खरो रुपमा उत्रिएको थिएँ, भोलि पनि उत्रिनेछु ।’ उनले पार्टीको आन्तरिक जीवनमा उथलपुथल आउने कुरा स्वाभाविक भएपनि चुनावी प्रतिष्पर्धामा भने कुनै असर पर्न नहुने र एकताबद्ध हुनुपर्ने बताए । उनले देशलाई कमजोर पार्ने प्रवृत्ति हाबी भएको र खतराको घण्टी बजिरहेको पनि औंल्याए । विश्वव्यापी रुपमा एउटा अराजकता र अन्यौलताको अवस्था रहेको पनि उनले टिप्पणी गरे । उनले अहिले देशको लागि सावधानीपूर्वक शान्त कुटनीतिमार्फत देशको हितको लागि काम गर्नुपर्ने आवश्यकता औंल्याए ।





प्रतिक्रिया