काठमाडौं, २४ माघ । नेपाली कांग्रेसका प्रभावशाली नेता, अर्थविद् तथा २१ फागुनको प्रतिनिधिसभाको निर्वाचनमा प्युठानबाट उम्मेदवार बनेका डा. गोविन्दराज पोखरेलले आफू चुनाव जित्नेमा आशावादी रहेको बताएका छन् । उनले जिल्लाभरि आफ्नो उम्मेदवारीप्रति उत्साह पाएको दाबी गरे ।
आज (शनिबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार खेम बमसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । जेनजी युवा पुस्ताको चाहनाअनुसार हिजो काम गर्न नसकेकोमा पनि पार्टीले माफी मागेको पोखरेलको भनाई छ ।
उनले कांग्रेसले विकास, राजनीतिक परिवर्तनलगायतमा नेतृत्वदायी भूमिका खेलेको पनि स्मरण गराए । उनले अहिले देशव्यापी रुपमा कांग्रेसको लहर र चर्चा चलेको दाबी गरे । सवा करोड युवाहरुको माग सम्बोधन गर्ने क्षमता कांग्रेसले देखााएकोले यो निर्वाचनमा एक सय सिट कटाउने पनि उनको दाबी छ ।
उनले सुशासन प्रदान गर्नेगरि अब बन्ने सरकारको नेतृत्व पनि कांग्रेसले गर्ने दाबी गरे । उनले भने,‘पहिलो कुरा त यो संसद्मा अब नेपाली कांग्रेस सशक्त र पहिलो दल भएर प्रस्तुत हुनेछ । देशलाई लगानीयोग्य मुलुक बनाउनेछ । युवाहरुको मागलाई सम्बोधन गर्नेछ । हामी अब राजनीतिक फोहोरी खेलमा लाग्दैनौं ।’
उनले कांग्रेसले अब देश बदल्छ भन्ने एजेण्डा लिएको स्मरण गराएका छन् । कांग्रेसले जेनजी आन्दोलनको आत्मसात गरेको पनि उनको दाबी छ । उनल आफूसँग प्युठानलाई विकास र समृद्धिको एजेण्डामा कायापलट गर्ने योजना रहेको दाबी गरे । जिल्लाको समग्र विकासको लागि थुप्रै योजना रहेको उनको भनाई छ । अहिले जिल्लामा पार्टी एक ढिक्का रहेको पनि उनले सुनाए ।
उनले भने,‘अहिले हामी निर्वाचनमा सबैजना मैदानमा खटिनुभएको छ, यो जिल्लाले पटकपटक माओवादी, जनमोर्चा र एमालेलाई जिताएर अवसर दिनुभएको छ, यसपटक कांग्रेसलाई संसद्मा पठाउनुपर्छ भन्नुभएको छ । म उत्साही छु । म यो जिल्लाको विकासको गर्नको लागि संघीय संसद्मा बसेर त्यहाँको नीतिमा हस्तक्षेप गरेर जिल्लाको विकासको लागि खाका कोरेअनुसार काम गर्न सक्षम छु ।’




प्रतिक्रिया