जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा अनुगमन अधिकृत परिचालन


काठमाडौं, २४ माघ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मर्यादित बनाउन काठमाडौं जिल्लामा ६ जना आचारसंहिता अनुगमन अधिकृत खटाइएको छ। जिल्ला निर्वाचन कार्यालय, काठमाडौंका प्रमुख ठाकुरप्रसाद भट्टराई निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुगमन अधिकृत परिचालन गरिएको जानकारी दिए।

काठमाडौं जिल्लाभित्र निर्वाचन आचारसंहिता अनुगमनका लागि मुक्तिराम रिजाल, शिवराम भट्टराई, रोमाकान्त काफ्ले, मुनकुमार केसी, सुनिता सुवेदी र रूक्माङ्गत अर्याललाई परिचालन गरिएको छ। रिजाल काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी हुन भने बाँकी ५ जना काठमाडौं जिल्लाभित्र रहेका कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक हुन्।

सहायक प्रमुख जिल्ला अधिकारी रिजाललाई समग्र काठमाडौंको आचारसंहिता हेर्ने गरी खटाइको छ। कोलेनिका बबरमहलका प्रमुख शिवराम भट्टराईलाई प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर एक र दुईमा निर्वाचन आचारसंहिता अनुगमनका लागि आचारसंहिता अनुगमन अधिकृतका रूपमा खटाइएको हो।

कोलेनिका सुन्धाराको प्रमुख सुनिता सुवेदीलाई काठमाडौं तीन र चार, कोलेनिका लैनचौरका प्रमुख मुनकुमार केसीलाई क्षेत्र नम्बर पाँच र छ हेर्ने गरी आचारसंहिता अनुगमन अधिकृतका रूपमा खटाइएको छ। त्यसैगरी काठमाडौंको प्रतिनिधिसभा क्षेत्र नम्बर सात र आठ हेर्ने गरी कोलेनिका सिंहदरबारका प्रमुख रोमाकान्त काफ्लेलाई र नौं र दश नम्बर क्षेत्रमा आचारसंहिता अनुगमन अधिकृतका रूपमा कोलेनिका त्रिपुरेश्वरका प्रमुख रुक्माङ्गत अर्याललाई आचारसंहिता अनुगमन अधिकृत तोकिएको हो। उनीहरूले ती क्षेत्रमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि सक्रियता देखाएका छन्।

आचारसंहिता अनुगमन अधिकृतहरूले संयुक्त रूपमा सूचना जारी गर्दै आचारसंहिताको पूर्ण रूपमा कार्यान्वयन गर्न अनुरोध गरेका छन्। उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा गर्न, सञ्चार माध्यममा कुनै प्रकारको प्रचार प्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न र निर्वाचन प्रचार प्रसारका लागि घरदैलो कार्यक्रम गर्न पाउने व्यवस्था छ।

तर, राजनीतिक दल, तिनका प्रतिनिधि र उम्मेदवारहरूले उक्त व्यवस्थाको उल्लंघन गरी कोणसभा गर्ने र घरदैलो कार्यक्रम गरी मतदातालाई प्रभावित पार्ने काम गरिरहेको भन्दै आचारसंहिता अनुगमन अधिकृतहरूले संयुक्त रूपमा त्यस्तो कार्य नगर्न/नगराउन अनुरोध गरेका छन्। कोही कसैबाट आचारसंहिताको उल्लंघन गरी कुनै पनि तरिकाले प्रचार प्रसार गरेको प्रमाण प्राप्त भएमा प्रचलित कानुन बमोजिम तत्काल कारबाही अघि बढाइने चेतावनी समेत दिइएको छ।