काठमाडौं, २४ माघ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले टी–२० विश्वकपमा सहभागी भएका नेपाली क्रिकेट खेलाडीहरुलाई सफलताको शुभकामना दिएका छन् । आज एक भिडिओ सन्देश जारी गरेर ओलीले नेपाली क्रिकेट खेलाडीहरुको प्रदर्शनले अब विश्वले नेपाल अब क्रिकेटको उदाउँदो शक्ति हो भनेर देख्ने पनि विश्वास लिएका छन् । उनले क्याप्टेन रोहित पौडेल नेतृत्वको टोलीले देशको शिर उच्च राख्ने पनि विश्वास लिएका छन् ।
उनले नेपाली खेलाडीहरुलाई यतिवेला सम्झिँदा आफू भावुक बनेको पनि उल्लेख गरेका छन् । नेपाली क्रिकेट खेल नेपालको लागि खेलमात्र नभएर नेपालको पहिचान र प्रगति बनेको ओलीले उल्लेख गरेका छन् । आफूसँग समग्र क्रिकेटको विकास र स्टेडियमको विषयमा क्यानका पदाधिकारी र खेलाडीहरुले गरेको बहस तथा छलफल पनि अहिले मानसटलमा आईरहेको उनले स्मरण गराएका छन् ।
सो क्रममा उनले खेलाडीहरुलाई मैदानमा एक्लै नरहेको र उनीहरुको साथमा मेचीदेखि महाकालीसम्मका नेपाली र प्रवासमा रहेका नेपालीहरुको साथ रहेको पनि बताएका छन् । उनले भने,‘खेलाडीहरुलाई म भन्न चाहन्छु–मुम्बईको त्यस भव्य क्रिकेट मैदानमा तपाईँहरू एक्लै हुनुहुन्न। तपाईँहरूको साथमा मेचीदेखि महाकालीसम्मका र प्रवासमा रहेका समेत नेपालीहरूको साथ छ। हामी तपाईँहरूका साथमा छौँ। विपक्षी जतिसुकै बलियो होस्, तपाईँहरूले विपक्षीको हिसाब गर्ने होइन। आफूमा कुनै प्रकारको हीनता बोधी ग्रन्थ पलाउन दिने होइन। नेपाली युवाहरूको रगत तपाईँहरूसँग छ। आत्मविश्वास तपाईँहरूसँग छ। त्यो आत्मविश्वासको कारण विजय हाँसिल गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु । खेलमा हारजित एउटा कुरा हो, हार जित हुनसक्छ, सबै टिमले जित्दैनन्, तर हामी जित्ने उद्देश्यका साथ सफलतातर्फउन्मुख भएर आफ्नो खेल, कला र क्षमता प्रदर्शन गर्नेछौं ।’ यसपटक क्याप्टेन रोहित पौडेल नेतृत्वको नेपाली टोलीले नयाँ किर्तीमान राख्ने र नेपालीहरुको शिर ठाडो बनाउने पनि ओलीको विश्वास छ ।




प्रतिक्रिया