जन्मको आधारमा पुरानो भए पनि कांग्रेसको जस्तो नयाँ विचार अरु पार्टीमा छैनः महामन्त्री पौडेल


काठमाडौं, २४ माघ । नेपाली कांग्रेस महामन्त्री प्रदीप पौडेलले नागरिकको अपेक्षाअनुसार पार्टीमा नीति र नेतृत्व दुवै सच्चिएर आएको बताएका छन् । कांग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आज आयोजना गरेको सदस्य भेलालाई सम्बोधन गर्दै महामन्त्री पौडेलले अब पार्टीले नागरिकको विश्वास जित्ने बताए ।

उनले भदौ २३ र २४ को आन्दोलनले आफूहरूलाई पनि खबरदारी गरेको भन्दै कमजोरी स्वीकार गरेर नागरिकले चाहेजस्तै परिमार्जन र रुपान्तरणमार्फत पार्टी निर्वाचनमा होमिएको बताए ।

महामन्त्री पौडेलले जन्मको आधारमा पुरानो भए पनि विचारका आधारमा कांग्रेसजस्तो नयाँ अरु पार्टी नभएको बताए । समाजको चाहनाअनुसार नयाँ ढङ्गबाट पार्टी अघि बढिरहेको उनको भनाइ छ । जनताले चाहेजस्तो नेतृत्व कांग्रेसले ल्याएको भन्दै उक्त नेतृत्वले देश बदल्ने अठोट लिएको उनले बताए ।