काठमाडौं, माघ २६ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को नक्कली प्रहरी सहायक निरीक्षक (असई) बनेर विभिन्न व्यक्तिहरूलाई ठगी गरेको आरोपमा एक महिला रौतहटबाट पक्राउ परेकी छिन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले सर्लाहीको कबिलासी नगरपालिका–१० सलेमपुर निवासी ३५ वर्षीया निर्मला महतोलाई पक्राउ गरेको हो ।
पक्राउ परेकी महतोले नेहा, निशा र पुनम कुमारी जस्ता विभिन्न उपनामहरू प्रयोग गरी सर्वसाधारणलाई भ्रममा पारेर रकम असुल्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार महतोले विभिन्न व्यक्तिहरूलाई प्रलोभन र विश्वासमा पारेर लाखौँ रुपैयाँ ठगी गरेकी छिन् । उनले सर्लाहीका अटो चालक राजेश्वर साहसँग चिनजान गरी भन्सारबाट ‘स्कारपियो’ गाडी मिलाइदिने भन्दै उनले १ लाख ५० हजार रुपैयाँ र कागजात लिएकी थिइन् । सन्तोष विश्वकर्माको ज्वेलर्सबाट २ लाख ७४ हजार बराबरको गहना र प्रवीण साहको किराना पसलबाट १ लाख २६ हजार बराबरको सामान तथा गाडी भाडा नतिरी ठगी गरेको आरोप छ ।
सापटीका नाममा ठगी गरेको पनि पाइएको छ । उनी गुजरा नगरपालिकाका विजय साह बनियाँसँग घरायसी समस्या देखाएर ५ लाख रुपैयाँ सापटी लिई फरार भएकी थिइन्। प्रहरीले पीडितहरूको उजुरीका आधारमा उनलाई चन्द्रपुर नगरपालिका–६ बाट नियन्त्रणमा लिएर ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।




प्रतिक्रिया