ओलीले नेपाल र भारतबीचमा शीत युद्ध चलाए, उनको पालाको जस्तो सम्बन्ध कहिल्यै बिग्रिएको थिएनः डा.दीक्षित


काठमाडौं, २७ माघ । नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा नेपाल र भारतबीच सम्बन्ध चिसिएको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि थपलियासँग संवाद गर्दै उनले पूर्व प्रधानमन्त्री ओलीको कारण नेपाल र भारतबीचमा शीत युद्ध नै चलेको बताएका हुन् । ओलीको पालाको जस्तो भारतसँग कुनै पनि शासकको पालामा सम्बन्ध नबिग्रिएको डा.दीक्षितले बताए ।

‘ओलीले त्यत्रो भारत विरोधी काम गरे । ओलीले भारतको विरोध गरेर नेपाललाई शित युद्धमै लगे भारतसँग । अरु कुनै नेताले गरेका थिएनन् । नेपालको र भारतको यति सम्बन्ध खराब पनि कहिल्यै भएको थिएन्, ओलीको समयमा जति भयो,’– उनले भने ।

साथै, डा.दीक्षितले चीनले नेपालमा निर्वाचन नचाहेको दाबी गरे । भारतले भने नेपालमा स्थिरता नै चाहेको डा.दीक्षितको दाबी छ । भारतले नेपालमा चुनाव होस् नै भनिराखेको पनि डा.दीक्षितले बताए ।