जेन-जी विद्रोहपछि साँच्चिकै सच्चिएर आएको दल कांग्रेस होः उपसभापति शर्मा


काठमाडौं, २७ माघ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले द्वन्द्व र विमतिलाई बिर्सिएर एक ढिक्का भई निर्वाचनमा जुटन आग्रह गरेका छन् । निर्वाचन परिचालन एवम् प्रचारप्रसार मूल समिति कांग्रेस बाँकेद्वारा नेपालगञ्जमा आयोजित बृहत जिल्ला भेलालाई सम्बोधन गर्दै उनले विशेष महाधिवेशनपछि पार्टी बदलिएर जनतामाझ गएको बताए ।

शर्माले कांग्रेसले यस पटक करिब दुई तिहाई नयाँ उम्मेदवार बनाएको उल्लेख गरे । ‘जेनजी विद्रोहपछि साँच्चिकै सच्चिएर आएको दल कांग्रेस हो,’ उनले भने, ‘देशलाई गाँस्ने पार्टी कांग्रेस हो । अब बन्ने सरकारले नागरिकमा आशा र भरोसा जगाउनुपर्नेछ, त्यो तागत कांग्रेससँग छ । इतिहास साक्षी छ, समन्वय, सहकार्य र एकता कायम गर्न सक्ने समार्थ्य कांग्रेससँग छ ।’

भेलामा कांग्रेस केन्द्रीय सदस्य गोपाल दहित, कांग्रेस लुम्बिनी प्रदेश उपसभापति एवम् निर्वाचन परिचालन मूलसमिति संयोजक राजु खनाल, कांग्रेस बाँके क्षेत्र नं ३ का उम्मेदवार अमरसिंह पुन, क्षेत्र नं १ का उम्मेदवार नारायणप्रसाद गौडेल, क्षेत्र नं २ का उम्मेदवार शुधांसु कोइराला, समानुपातिक उम्मेदवार दुखीराम लोनियाले जनआकांक्षा सम्बोधन र संविधान रक्षाका लागि कांग्रेसलाई जिताउन आग्रह गरे ।

कांग्रेस बाँकेका कार्यवाहक सभापति गोपालप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भेलामा जिल्लाभरी अगुवा कार्यक्रर्ताको सहभागिता रहेको थियो । File Photo/RN