भुम्लुका मतदाताको प्रश्नः ‘५० वर्षदेखिको लालपुर्जासम्बन्धी समस्या समाधान कहिले हुन्छ’ ?


काभ्रेपलाञ्चोक, २९ माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नं २ का उम्मेदवारसहित आ–आफ्ना टोली घरदैलो अभियानमा व्यस्त देखिन्छन् ।

अभियानका क्रममा भुम्लु गाउँपालिकामा मतदाताले अन्यत्रको भन्दा फरक माग राख्दै विकास र समृद्धि प्रमुख मुद्दा बनाउनुपर्नेमा जोड दिएका छन् । गाउँपालिकाको ७ र ८ नं वडाका बस्तीमा पुग्दा मतदाताले उम्मेदवारसँग एउटै भनाइ रोखेका छन् ‘५० वर्षदेखिको लालपुर्जासम्बन्धी समस्या कहिले सुल्झाउनुहुन्छ ?’

यसअघिका निर्वाचनका प्रतिस्पर्धी उम्मेदवारसँग ‘माग’ राखेझैँं यसपाली पनि भुम्लुमा स्थानीयसँग भेटघाटका क्रममा फलाँटे र भुम्लुटार दुई वडाका बासिन्दाले उम्मेदवारसँग ५० वर्षदेखिको आफूहरूको लालपुर्जाको समस्या समाधान गरिदिन माग गरिरहेका हुन् ।

“हामीलाई अरु केही चाहिँदैन, हाम्रो अड्किएको लालपुर्जा छिटो दिलाइदिनुस्”, ७ नं वडाका सन्त तामाङले उम्मेदवारसँग भने । उनले अघिल्लो सरकारले पनि आशा देखाएकाले ‘आशावादी’ मात्रै नबनाउन आग्रह गरे । केही समयअघि वडामा बाँड्न लालपुर्जा दिन थालिए पनि विविध बाहनामा आफूले नपाएको उनको भनाइ छ ।

करिब ५० वर्षदेखि फलाँटे र भुम्लुटारका एक हजार २०० स्थानीय लालपुर्जाविहीन अवस्थामा छन् । विसं २०३२ मा जग्गा नापी गर्दाकाबखत साविकको पिपलटार गाविस र भुम्लुटार गाविसबीच टारको खेतीयोग्य जमिन कता राख्ने भन्ने विषयमा दुई गाविसका नेतृत्वबीच विवाद हँुदा तत्कालीन नापी टोली फर्किएको थियो । त्यसयता सरोकार भएका निकायबाट विभिन्न चरणमा समस्या समाधान गर्ने प्रयास भएपछि गत भदौ पहिलो सातादेखि करिब ५० प्रतिशतले मात्रै लालपुर्जा पाएका तामाङले जानकारी दिए ।

स्थानीय रमेश खरेलले मालपोत र नापी कार्यालयले जग्गा पहिचानका क्रममा कागजात अपुग तथा जग्गाको एकीन नभएको जनाएपछि लालपुर्जाविहीनमध्ये केही प्रतिशतले लालपुर्जा नपाएका बताए । उनका अनुसार अझैपनि लालपूर्जा अभावमा रसिदका आधारमा किनबेच हुँदै आएकाले मालपोत कार्यालयको फिल्डबुक र हालको रसिदबाहेक जग्गाधनीबीच मेल नहुँदा छानबिनमा सकस हुँदै आएको उनको भनाइ छ ।

लालपुर्जा नहुँदा स्थानीयले विसं २०७२ को गोर्खा भूकम्पपछि आवास निर्माणलगायत विभिन्न समस्या झेल्दै आएका थिए । उम्मेदवारको टोलीले स्थानीयसँग भेटघाटसँगै भए÷गरेका विकासका काम तथा अबको आवश्यकताकाबारे चासो दिइरहेका छन् ।

यो साता भुम्लु पुग्नुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार अशोक ब्याञ्जूले समस्याबारे थप छानबिन गरी लालपुर्जा दिलाउनमा आफूहरू लागिपर्ने बताए । उक्त गाउँपालिकाको दुई वटा वडामा हालसम्म पुगेका उम्मेदवारले आफूहरू लालपुर्जाको समस्याप्रति गम्भीर रहेको र स्थानीयलाई ढुक्क भएर बस्न आग्रह गरिरहेका छन् ।

हालसम्म ठूला दल मानिएका नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार उक्त वडामा पुगिसकेका छन् । “लालपुर्जा वितरणको काम भइरहेको छ, देखिएका अप्ठेरा, साह्रोगाह्रो फुकाउनतर्फ लाग्ने छौँ”, कांग्रेसमा उम्मेदवार मधुप्रसाद आचार्यले भने ।

स्थानीय पूर्णबहादुर श्रेष्ठले लालपुर्जा दिलाइदिन प्रतिबद्ध उम्मेदवारलाई मात्रै मत हाल्ने बताए । “हाम्रो जमिनको निष्पक्ष छानबिन गरी पुर्जा दिलाइदिनुपर्छ”, उनले भने, “यस्तो प्रतिबद्धता जनाउनेलाई मात्रै भोट दिने निर्णय गरेका छौँ ।”

हालसम्म करिब ६०० जग्गाधनीलाई लालपुर्जा दिलाएको जिल्ला नापी कार्यालयले जनाएको छ । लालपुर्जाविहीन भुम्लुवासीलाई जिल्लास्थित नापी कार्यालय तथा मालपोत कार्यालयको पहलमा प्रक्रिया पु¥याएर औपचारिक रूपमा गत भदौ ३ गते तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले लालपुर्जा वितरणको सुरुवात गरेको थियो ।

गत वर्षसम्म पनि रसिदका आधारमा जग्गा किनबेच भइरहको हुँदा छानबिनका बेला एकको नाममा र पुर्जा बन्ने बेला बिक्री भई अर्काको नाममा जानसक्ने समस्याले थप कठिन भइरहेको स्थलगत काममा खटिनभएका नापी अधिकृत लवप्रसाद कुइँकेलले बताए । उनका अनुसार रसिदकै आधारमा जग्गा किनबेच भएको लगत जिल्ला मालपोत कार्यालयबाट उपलब्ध हुन समस्या भइरहेको हो ।

टोलीले स्थलगत रूपमा गरेको छानबिन र मालपोतको विवरणमा कतिपय जग्गाधनीको नाम फरकफरक भएका कारण थप समस्या उत्पन्न भएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले बताए । “मालपोतको फिल्डबुकमा लगत मिल्दैन, यसअघि लालपुर्जा नहुँदासमेत रसिदका आधारमा किनबेच गरेकाले निकै कित्ताको नाम फरकफरक आइरहेको छ, त्यसैले उत्पन्न समस्यालाई निरुपण गर्दैछौँ”, उनले भने ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकको दुई निर्वाचन क्षेत्रमा ४२ जनाको उम्मेदवारी दर्ता भएको छ । क्षेत्र नं १ मा १८ र क्षेत्र नं २ मा २४ ले उम्मेदवारी दर्ता गरेका हुन् । दलितको तर्फबाट उम्मेदवारी नभएको जिल्लामा ४२ मध्ये जनजाति तर्फबाट भने २५ जना छन् भने दुई निर्वाचन क्षेत्रमा ११ जना स्वतन्त्रको उम्मेदवारी परेको छ । काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता छन् । रासस