नेपाली सेनाको २६३ औँ वार्षिकोत्सव विशेष समारोहमा प्रधानमन्त्री कार्की सहभागी


काठमाडौँ, ३ फागुन । प्रधानमन्त्री सुशीला कार्की आज नेपाली सेनाद्वारा आयोजित महाशिवरात्रि तथा सेना दिवस-२०८२ सम्बन्धी कार्यक्रममा सरिक भएकी छिन् ।

काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा आयोजित उक्त कार्यक्रममा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि थिए।

कार्यक्रममा महाशिवरात्रि बढाइँ तथा मार्च पास्ट, नेपाली सेनाका हातहतियार तथा उपकरणहरुको प्रदर्शन, विविध सैनिक कला तथा सांगीतिक झाँकीहरु प्रदर्शन गरिएको थियो। त्यस्तै मित्रराष्ट्र भारत, बेलायत र अमेरिकाका सेनाका ब्यान्डहरुका प्रस्तुति पनि कार्यक्रममा राखिएका थिए।

नेपाली सेनाले हरेक वर्ष महाशिवरात्रिका अवसरमा आफ्नो स्थापना दिवस मनाउँदै आएको छ। राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट नेपाल एकीकरणको सिलसिलामा विसं १८१९ मा नेपाली सेनाको गठन भएको थियो।

त्यस वर्ष नेपाली सेनाका श्रीनाथ, कालीबक्स, बर्दवानी, सबुज र गोरख कम्पनी खडा गरिएका थिए। नेपाल राज्यका पुराना संस्थाहरुमध्ये नेपाली सेना पनि एक हो।

तस्बिर: केशव थापा/प्रधानमन्त्रीको सचिवालय