नासा कलेजद्धारा माध्यमिक विद्यालयका प्र. अ.को तालिम सम्पन्न


काठमाडौँ, ४ माघ । राजधानीको तीनकुने स्थीत नासा कलेजले विद्यालयका प्रधानाध्यापक तथा नेतृत्व वर्गको क्षमता अभिबृद्दिको लागि एक दिने नेतृत्व बिकास तालिम सम्पन्न गरेको छ । देशभरका करीब १०० जना प्रधानाध्यापक र विद्यालय नेतृत्वको सहभागिता रहेको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि हिसान काठमाडौँका सचिब राम हरि सिलवालले गरेका थिए भने सभापतित्व नासा एडुकेसन नेटवर्क प्रा. लि.का प्रबन्ध निर्देशक तथा सी इ ओ दिपक न्यौपानेले गरेका थिए ।

“Leading 21st-Century Secondary Schools in Nepal: Shaping Futures, Transforming Lives.” भन्ने मूल विषय केन्द्रित उक्त तालिम कार्यक्रम अन्तर्गत तीन वटा सेसनहरु संचालित थिए । पहिलो सेसन ‘Leading 21st-Century Educational Organizations’ को सहजीकरण श्री मेदिन लामिछानेले गरेका थिए भने दोश्रो सेसन ‘Student Well-being, Inclusivity, and Stakeholder Engagement’को प्रा. डा. बासुदेव काफ्लेले अनि तेश्रो सेसन ‘Instructional Leadership, Governance, and Quality Assurance’ को सहजीकरण प्रा. डा. लक्ष्मण ज्ञवालीले गरेका थिए ।

समयक्रमसंगै निरन्तर बिकसित भैरहेका चुनौतिहरुको सामना गर्न र अवसरहरुबाट लाभान्वित हुन तथा शैक्षिक संस्थाहरुलाई सबल र परिणाममुखी नेतृत्व प्रदानगर्न आवश्यक पर्ने ज्ञान, सीप , क्षमता र सुझबुझ बिकास गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा सहभागी प्रधानाध्यापकहरुले कार्यक्रम अत्यन्तै समय सापेक्ष, सान्दर्भिक र उपयोगी रहेको बताएका थिए । कार्यक्रममा सहभागी एक प्रधानाध्यापक भन्छन्,“कार्यक्रम अत्यन्तै व्यवस्थित र भब्यरुपमा सम्पन्न भयो र शैक्षिक नेतृत्व बिकासमा साँच्चै महत्वपुर्ण रह्यो ।”

तालिमको महत्वबारे प्रकाश पार्दै तालिम कार्यक्रमको आयोजक नासा कलेजका प्रबन्ध निर्देशक दिपक न्यौपानेले भने, “अब शिक्षाले हाम्रो देशका युवाहरुलाई हाम्रै माटोसंग जोड्ने र देशकाप्राकृतिक र संस्कृतिक सम्पदाको गहन अन्वेषण र विकासद्वारा देशको बहुआयामिक रुपान्तरणका सम्भावनाका द्वारहरू खोल्ने कार्य गर्नु आवश्यक छ ।

बर्तमान २१औँ शताब्दीको विश्व परिवेशमा हाम्रो आफ्नै भूराजनैतिक सन्दर्भमा हाम्रो शिक्षाले बिकसित गर्ने आदर्श नागरिक कस्तो हुनुपर्छ र त्यसकोलागि कस्तो शिक्षा आवश्यक पर्छ भन्नेबारे बहस र योजना हाम्रो शिक्षा प्रणालीमा अति आवश्यक देखिन्छ ।”

उनले थपे,“यो चुनौतिपूर्ण परिवेशमा बिद्यालय तहको नेतृत्व साँच्चै दुरदर्शी, परिपक्क र सबल हुनु आवश्यक छ । अर्को तर्फ हरेक विद्यार्थी अद्वितीय क्षमता, विशेषता र सम्भावाना बोकेको हुन्छ । हाम्रो विद्यालय प्रणालीले त्यो सम्भावनालाइ बास्तबिकतामा परिणत गर्नुपर्ने हुन्छ र त्यसमा विद्यालय नेतृत्वको ठुलो भूमिका रहन्छ । त्यही नेतृत्वको थोरै भएपनि सबलीकरणको लागि आजको तालिमको आयोजना गरिएको हो र मैले तालिम धेरै हदसम्म सफल भएको ठानेको छु।”

सिकाइ लाइ निरन्तर चलिरहने प्रक्रिया बताउंदै उनले भने,“हामीले समयक्रमसंगै नयाँ नयाँ चुनौतिहरु भोग्दै र अवशरहरु प्राप्त गर्दै जान्छौं अनि त्यसको लागि हामी निरन्तर हाम्रो क्षमता अभिवृद्धिमा क्रियाशील रहनुपर्छ र सामुहिकतामा बल हुने हुँदा हातमा हात मिलाएर अगाडी बढ्नुपर्छ ।”