हाम्रो पार्टी सबैभन्दा नयाँ र उर्जाशील पार्टी हो : घिसिङ


काठमाडौं, १० फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी सबैभन्दा नयाँ र ऊर्जाशील पार्टी भएको दाबी गरेका छन् । उनले जेन–जी आन्दोलनको मागलाई सम्बोधन गर्न आफ्नो पार्टी स्थापना भएको बताएका हुन् । आज (आइतबार) पार्टीले रूपन्देहीको भैरहवामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले यस्तो बताएका हुन् ।

उनले देशलाई विकास र समृद्धिको मार्गमा डोर्याउनको लागि आफू राजनीतिमा आएको दाबी गरे । विगतमा नेपाल विद्युत् प्राधिकरणमा आएपछि देशभरि लोडसेडिङको अन्त्य गरेको स्मरण गराउँदै उनले अब समग्र क्षेत्रको अँध्यारोलाई हटाएर सबै क्षेत्रमा लोडसेडिङ अन्त्य गरेर गरिब परिवारको अनुहारमा उज्यालो ल्याउन पार्टी अगाडि आएको दाबी गरे । सो अवसरमा उनले मिटरब्याजी, लघुवित्त, सहकारी ठगीको काण्डले किसान र विपन्न मर्कामा परेको र पीडितहरूको समस्या समाधान गर्नका लागि आयोग गठेन गरेर दोषीमाथि कडा कारबाही गर्नुपर्ने धारणा राखे ।