दोलखाका संस्थापक नेता शिवप्रसाद भण्डारी पुनः एमालेमै फर्किए


दोलखा, ११ फागुन। नेकपा (एमाले) दोलखाका संस्थापक नेता शिवप्रसाद भण्डारी पुनः एमालेमै फर्किएका छन् । उनीसँगै भीमेश्वर नगरपालिकाकी पूर्व उपमेयर शान्त बस्नेतसहितका कार्यकर्ता आज एमालेमा फर्किएका छन् । भण्डारी एमाले दोलखाको दुई कार्यकाल पार्टी प्रमुख, केन्द्रीय अनुशासन आयोग सदस्य तथा पूर्व जिविस उपसभापतिको जिम्मेवारी सम्हालीसक्नुभएका नेता हुन् ।

बिहान आयोजित पुनर्मिलन कार्यक्रममार्फत संस्थापक नेता भण्डारीसहितलाई पार्टीमा औपचारिक रूपमा स्वागत गरिएको थियो । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा दोलखाका उम्मेदवार पार्वत गुरुङ, पार्टीका नेता आनन्दप्रसाद पोखरेल, केन्द्रीय सदस्यहरू रचना खड्का र श्यामकुमार बस्नेत, पार्टीका संस्थापक नेताद्वय जीतवीर लामा र लालकुमार केसीलगायत जिल्लाका अगुवा नेता कार्यकर्ता सहभागी थिए ।

पुनर्मिलन कार्यक्रममा बोल्दै नेता भण्डारील दोलखामा एमालेलाई पहिलो शक्ति बनाउन सबै नेता–कार्यकर्तालाई सक्रिय बन्न आह्वान गरे । ‘अब विभाजन र अन्तर्विरोध होइन, एकताको सन्देश लिएर जनताको घरदैलोमा पुग्नुपर्छ’, उनले भने ।

आगामी निर्वाचनमा एमाले उम्मेदवार पार्वत गुरुङलाई विजयी गराउन आफू पूर्णरूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्दै भण्डारीले दोलखाको विकास र स्थायित्वका लागि एमालेको जित आवश्यक रहेकोमा जोड दिए । चार वर्षअघि एमाले विभाजनपछि नेता भण्डारी एकीकृत समाजवादीमा पोलिटब्युरो सदस्य थिए ।