काठमाडौं, फागुन १४ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज झापाको कमल गाउँपालिका अन्तर्गतका विभिन्न स्थानमा पुगेर मतदातासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
झापा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार ओली आज दिनभरि कमल गाउँपालिका अन्तर्गतका विभिन्न आठ स्थानमा पुगेर भेटघाट गर्ने कार्यक्रम रहेको हो । जसअनुसार ओलीले अहिले बिहान ११ बजे कमल ५ को सिम्लेस्थित सिरिजङ्गा चौकमा स्थानीयसँग भेटघाट गर्ने, साढे १२ बजे सोही वडाको झारबारीस्थित राधाकृष्ण मन्दिरमा पुगेर स्थानीयसँग भेटघाट गर्ने, साढे १ बजे कमल ३ सानो केर्खामा, साढे २ बजे कमल ४ को भलायोडाँडामा मतदातासँग भेटघाट र साढे ३ बजे कमल २ को भुत्लुङमा स्थानीयसँग प्रत्यक्ष भेटघाट कार्यक्रम गर्ने कार्यक्रम रहेको छ ।
ओलीले अपरान्ह्र साढे ४ बजे कमल ४ र ६ मा पर्ने नयाँ बस्तीका बासिन्दासँग र साँझ ५ बजे कमल ५ को रत्नपुर टोलमा मंलगबारेमा पुगेर मतदातासँग भेटघाट गर्नेछन् । भेटघाटका क्रममा ओलीले स्थानीयले राखेका समस्या र सुझाव सुनेर समस्याको समाधानको योजना निर्माण गरिने रणनीति अघि सारेका छन् । हिजो मात्र उनले यही निर्वाचन क्षेत्र अन्तर्गतको गौरीगञ्ज गापाको ११ स्थानमा पुगेर भेटघाट गरेका थिए ।




प्रतिक्रिया