दमक, १६ फागुन। एमाले अध्यक्ष तथा झापा–५ का उम्मेदवार केपी शर्मा ओलीले सरकारले अझै पनि निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेको टिप्पणी गरेका छन् । मुलुकको सार्वभौम संसदलाई ध्वङ्सको माध्यमबाट बलजफ्ती विघटन गरिएपछि देश सङ्कटतर्फ धकेलिएको उनको आरोप छ ।
झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको ‘बासँग विद्यार्थी’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले देशमा आइपरेको सङ्कटबाट मुक्ति दिलाउन एमाले चुनावमा गएको समेत बताए । उनले एमाले चुनावबाट न भाग्ने भएकाले देशैभरि पार्टी चुनावमा केन्द्रित भएको उल्लेख गर्दै आगामी चुनावबाट एमालेनै पहिलो शक्ति बन्ने र देशमा आइपरेका समस्याहरूको समाधान निकाल्ने बताए ।
पूर्वप्रधानमन्त्री ओलीले चुनावमा हुने कुनै पनि प्रकारका धाँधली एमालेलाई मान्य नहुने बताए । चुनावलाई निष्पक्ष, धाँधलीरहित बनाउन सरकार गम्भीर नदेखिएको उनको भनाइ छ । उनले युवाहरूलाई विभिन्न माध्यमबाट छरिने भ्रममा नपर्न र त्यस्ता भ्रमहरू चिर्ने काममा लाग्न आग्रह गरे ।




प्रतिक्रिया