काठमाडौं, १६ फागुन । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले अहिले पार्टीलाई जिताउनको लागि सबै नेता तथा कार्यकर्ता एक ठाउँमा उभिनुपर्ने बेला भएको बताएका छन् । उनले पार्टीभित्र धेरै कुरामा विमति भएपनि अन्तर्विरोधलाई थाती राखेर एकताबद्ध चुनावी लाग्न अपिल गरेका छन् ।
आज (शनिबार) एक भिडिओ सन्देश जारी गर्दै उनले यस्तो अपिल गरेका हुन् । पार्टीभित्र धेरै कुरामा आफूहरुको पनि विमति रहेको उल्लेख गर्दै अहिले ती सबै कुरालाई थाँती राखेर पार्टीलाई जिताउन लाग्नुपर्ने बेला भएको उनको आग्रह छ । उनले भने,‘तर अहिलेको अवस्थामा हामीले पार्टीभित्रका द्वन्द्वहरूलाई, अन्तर्विरोधहरूलाई थाती राख्ने समय हो। यतिबेला सिङ्गो नेकपा एमाले टुप्पीदेखि पैतालासम्म एकताबद्ध भएर नेकपा एमालेको विजयमा एक ठाउँमा उभिने बेला हो।’
अहिले एमाले पनि चुनावी प्रचारको अन्तिम चरणमा रहेको उल्लेख गरे । उनले अहिले मतदाताले एमालेका उम्मेदवारलाई किन बहुमत चाहियो ? भनेर सोधेको पनि स्मरण गराए । उनले आम मतदाताहरुले राय, सुझाव, आलोचना र टिप्पणीप्रति आफूहरुले सम्मान गर्ने पनि बताए । उनले मतदाताहरुले उठाएका आलोचनाप्रति आत्मालोचित हुने बताए ।
पार्टीले अहिले भएका कमिकमजोरी हटाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले एमाले नेतृत्वमा सरकार बन्दा केही न केही नयाँ भाष्य बनाएको पनि स्मरण गराए । ०५१ सालको मनमोहन अधिकारीको नेतृत्वको सरकारको पालमा राज्य भनेको असाहयहरुको हो भन्ने कुरा प्रमाणित गरिदिएको बताए ।




प्रतिक्रिया