काठमाडौं, १६ फागुन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले भदौ २३ र भदौ २४ गतेको घट्नाको लागि गठन गरेको जाँचबुझ आयोगले अहिलेसम्म प्रतिवेदन नल्याएकोमा आपत्ति जनाएका छन् । उनले जेनजी आन्दोलनको नाममा देशको संसद्, अदालत र सिंहदरबार जलाउनेहरु नेपाली जनता नभएको भन्दै जनतालाई अघि सारेर विदेशीहरुले गरेको आरोप लगाए ।
आज (शनिबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार खेम बमसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले अहिले देशको राष्ट्रियता संकटमा परेको पनि टिप्पणी गरे । पार्टीले राष्ट्रियता जोगाउनको लागि नारा बनाएर चुनावी मैदानमा होमिएको केसीको भनाई छ ।
उनले भने,‘अहिले हाम्रो पार्टीले उठाउने नारा भनेको देशमाथि राष्टियतामाथि नै गम्भीर संकट छ । आर्थिक संकट त थियो नै । भ्रष्टाचारले देश गाँजिएको छ । अहिले देशको सार्वभौमसत्ता, राष्ट्रियता र अखण्डतामाथि बढि खतरा छ । यसमा हामीले बढि ध्यान केन्द्रित गरेका छौं ।’
उनले आफ्नो पार्टीले यो चुनावमा ४२ जिल्लाबाट ७० जना प्रत्यक्षतर्फ र १०७ जना समानुपातिकतर्फ उम्मेदवार उठाएको जानकारी दिए । उनले भने,‘हाम्रा उम्मेदवारहरु र कार्यकर्ताहरु, नेताहरु यतिवेला देशव्यापी रुपमा २१ फागुनको निर्वाचनमा सक्रियतापूर्वक लागिराख्नुभएको छ ।’
उनले सर्वोच्च अदालत, संसद्, शितलनिवासमा जलाउने आन्दोलन नेपाली जनताले नभएर नेपाली जनतालाई अगाडि सारेर विदेशीहरुले गरेको आरोप लगाएका छन् । उनले त्यसखालको तत्वहरुलाई ल्याउनको लागि जनताले चुनेको प्रतिनिधिहरुलाई हटाएर ती तत्वहरुलाई ल्याउनको लागि यो गरेको दाबी गरे ।
केसीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारलाई पनि बारबारा फाउण्डेशनबाट बनेको सरकार भनेर आरोप लगाए । यो सरकारले कुनैपनि हालतमा सुशासन नल्याउने उनको दाबी छ । उनले यो निर्वाचनमा जेनजी आन्दोलनको आवरणमा अमेरिकी पक्षमा काम गर्ने शक्ति ल्याउने खेल रहेको अर्को आरोप लगाए ।
उनले रास्वपाले भावी प्रधानमन्त्रीको रुपमा अघि सारेका बालेन शाहले काठमाडौं महानगरको प्रमुख हुँदा सिन्कोपनि नचाँचेको र बदमासी मात्रै गरेको आरोप लगाए । उनले रवि लामिछानेलाई अमेरिकामा पनि ठगेर भागेको र नेपाल आएर नेपालीहरुको करोडौं सहकारीको बचन ठगेको आरोप लगाए । उनले रवि र बालेनले नेपालको रक्षा नगर्ने बताए । उनले भने,‘उनीहरु अमेरिकाले तयार गरेको शक्ति हुन् । ०७९ सालदेखि अमेरिकाले नेपालको घण्टी खोलो । नेपाल त करिब करिब काठमाडौं त अमेरिकामय भएको छ ।’




प्रतिक्रिया