नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली


काठमाडौं, १७ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् भन्ने कामना गरेका छन् । मध्यपूर्वमा भइरहेको मिसाइल आक्रमणका कारणले आफू निदाउन पनि नसकेको सामाजिक सञ्जाल फेसबुकमा जनाएका छन् । उनले मध्यपूर्वमा रहेका लाखौं नेपाली आपत र कोलाहलमा भएकाले उनीहरूका परिवार पलपल छट्पटाएर बस्नुपरेको लेखेका छन् ।

उनले लेखेका छन्–‘मध्यपूर्वी देशहरू माथिको आकाशबाट बर्सिएका मिसाइलको धुवाँको दृष्यले आज निद्रा परेको छैन । ती देशमा लाखौं नेपाली आपत र कोलाहलमा छन्, तिनका परिवारले यहाँ पलपल छट्पटाएर बस्नुपरेको छ ।’ अवसर छनौटका लागि खुला विश्वमा आज संसारका नागरिक संसारैभरि आउनु जानु स्वभाविक भएको अध्यक्ष ओलीको भनाइ छ । ‘अस्वभाविक र खतरनाक कुरा त युद्ध र भूराजनीतिक चपेटा हो’ अध्यक्ष ओलीले लेखेका छन्–‘ती देशहरू पनि पक्कै युद्ध चाहँदैन थिए तर शक्तिको स्वार्थ घुसेपछि विवश हुनुपर्ने ।’

नेपालमा अहिलेसम्म सौभाग्यवश मिसाइलको धुँवा भोग्नु नपरेको उल्लेख गर्दै अध्यक्ष ओलीको प्रार्थना छ–‘कुनै पनि आवरणमा त्यो आउन नसकोस् । आज तपाईंहरूलाई छटपटी भइरहँदा म निदाउन सकिन । बेचैन छु । ओलीले सबैलाई सजगता र धैर्यता लिन आह्वान गरेका छन् । ‘यसबेला हाम्रो सजगता चाहिन्छ, धैर्य चाहिन्छ । विवेक, धैर्य र साहस –कामना गर्छु’ अध्यक्ष ओलीले लेखेका छन् ।