ओलीको भिडियो सन्देश जारी : मैले देश पहिले भन्दै आएको छु, अब तपाईंहरूले पनि देश पहिले भन्ने दिन आएको छ (भिडियो–सहित)


काठमाडौं, १७ फागुन । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सन्देश जारी गरेका छन् । उनले आफू नेतृत्वको निर्वाचित सरकारलाई अपदस्त गराई देशमा विध्वंश मच्चाईएको टिप्पणी गरेका छन् । उनले आम जनतालाई ठण्डा दिमागले सोच्न देश बचाउने कि नबचाउने भनेर सोच्न भनेका छन् । आज (आइतबार) एक भिडियो सन्देश जारी गर्दै ओलीले प्रतिनिधिसभा विघटन गरेर अहिले त्यही प्रतिनिधिसभाको निर्वाचन हुन लागेको भन्दै देश बचाउनको लागि ठण्डा दिमागले सोच्न आग्रह गरेका छन् ।

उनले अब जनताले एउटा बाटो रोज्नुपर्ने पनि उल्लेख गरेका छन् । उनले भने,‘आज तपाईंले एउटा बाटो रोज्नुपर्नेछ, बनाउने बाटो कि भत्काउने ? निर्माणको कि ध्वंशको बाटो ? मलाई थाहा छ थुप्रै भ्रमहरु फैलाईएका छन् । तपाईंसँग मप्रति गुनासा पनि छन् । प्रश्न पनि छन् । मेरा कमिकमजोरी पनि होलान् । तर, तपाईंहरुलाई यो पनि थाहा छ कि मैले यस देशको अखण्डताको सवालमा, यस देशको स्वाभिमानको सवालमा, यस देशको राष्ट्रियताको सवालमा कसैसँग कहिल्यै सम्झौता गरेको छैन ।र, गर्दिनँ । अब स्पष्ट कित्ताकाट गर्ने बेला आएको छ । तपाईं राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा कि राष्ट्रको भविष्य जे भए होस् भन्ने पक्षमा ? यतिबेला तपाईँले आफू कुन कित्तामा हो भनेर स्पष्ट पार्नुभएन र त्यसको लागि बोल्नुभएन भने इतिहासले होइन, तपाईं आफैँले आफैँलाई कहिल्यै माफ गर्नुहुने छैन । इतिहासले धिक्कारेको कुरा आफैँले त कसैले देख्दैन तर जिन्दगीको अन्तिम मोडतिर पुग्दा मैले त्यतिबेला बोल्नुपथ्र्यो कि पर्दैनथ्यो ? मैले त्यतिबेला आँखा र कान खोल्नुपथ्र्यो कि पर्दैनथ्यो ? मैले त्यतिबेला हातखुट्टा जुरुक्क उठाउनुपथ्र्यो कि पर्दैनथ्यो ? भनेर आफैँलाई सोध्दा त्यसको जवाफ दिने नैतिक साहस तपाईंसँग बाँकी रहोस् । मैले राष्ट्रको पक्षमा निर्णय गरेँ भन्ने आत्मसन्तुष्टि तपाईंमा रहिरहोस् । यसैपनि मेरा त बाँच्ने दिन बाँचिसकेका दिनभन्दा कम छन्, तर म बाँच्ने दिन बाँचिसकेका दिनभन्दा बढि भएकाहरुको लागि लड्दैछु । त्यसैले मैले देश पहिले भन्दै आएको छु । अब तपाईंहरुले पनि देश पहिले भन्ने दिन आएको छ ।’

ओलीले आफूले देश पहिले भनेको भन्नु संविधान र नियम पहिले भनेको भनेर स्पष्ट पारेका छन् । देश पहिले भनेको भूमि र जनता पहिले भनेको भनेर पनि उनले स्पष्ट पारेका छन् । संविधान बचेमात्रै नागरिकको अधिकार बच्ने उनको तर्क छ । आज आफूहरुलाई संविधान नहल्लिने, नियम नमिचिने र अधिकार नकुल्चिने ग्यारेन्टी चाहिएको पनि उनले भनेका छन् ।