ओलीको चुनावी प्रचारमा स्कुटरमा योगेश भट्टराई, अध्यक्ष ओलीले हार्दा देशले हार्नेछ


दमक, १७ फागुन । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराई अध्यक्ष केपी शर्मा ओलीको चुनावी प्रचारमा उत्रिएका छन् । उनले आगामी निर्वाचनमा एमाले र अध्यक्ष केपी शर्मा ओलीले हार व्यहोर्नु परे देशले नै हार भोग्नुपर्ने बताएका छन् । झापाको कमल गाउँपालिकामा आइतबार आयोजित मोटरसाईकल र्यालीको उद्घाटनका क्रममा उहाँले आगामी निर्वाचनबाट राष्ट्रवादी शक्तिलाई विजयी गराउन आग्रह गरेका हुन् ।

अहिले राष्ट्रवादी शक्तिको नेतृत्व एमालेले गरिरहेको र एमालेको नेतृत्व केपी शर्मा ओलीले गरेकाले एमाले र अध्यक्ष ओलीको जीत जरूरी रहेको उपमहासचिव भट्टराईले बताए । झापाले नेपाली कम्युनिष्ट आन्दोनलाई पुनर्जीवन दिएको उल्लेख गर्दै झापाले राष्ट्रवादी शक्तिलाई निर्वाचित गराई देशव्यापी सन्देश दिनेमा आफु ढुक्क र विश्वस्त रहेको उनले बताए । झापा क्षेत्र नम्बर ५ अन्तर्गतको कमल गाउँपालिका वडा नम्बर ७ को गेउरीयामा आयोजित सभामा उहाँले यस क्षेत्रमा भएको विकासको मोडल देशकै लागि नमूना रहेको समेत बताए ।

नेपालका कम्युनिष्टहरूका लागि झापा अति पवित्रस्थल रहेको बताउँदै उपमहासचिव भट्टराईले झापामा एमालेको जित सिङ्गो कम्युनिष्ट आन्दोलनको जितसँग जोडिएको विषय भएको धारणा राखे । उनले भने–‘केपी शर्मा ओलीको विजय वा पराजय एमालेसँग मात्र जोडिएको छैन, यो देशको विजय वा पराजयसँग जोडिन्छ । यो विषय देश र नेपाली जनताको स्वाभिमानसँग प्रत्यक्ष सम्बन्धित विषय हो । यो विषय नेपाली राष्ट्रियता, स्वाभिमान र नेपालीत्वसँग जोडिएको छ । अध्यक्ष ओलीको विजय भनेको यो देशको स्वाभिमानलाई माथि उठाउने कुरा हो, राष्ट्रियतालाई सुदृढ बनाउने कुरा हो र ‘हामी नेपाली हौँ’ भन्ने पहिचानलाई अझ गर्वका साथ उचाल्ने विषय हो ।’

उपमहासचिव भट्टराईले वर्तमान अवस्थामा पार्टीका आन्तरिक विषयलाई उठाउने समय नभएको धारणा राखे । अहिलेको आवश्यकता एकढिक्का भएर पार्टीलाई विजय गराउने भएकोमा उनले जोड दिए । पार्टीभित्र कोही संगठन सञ्चालनको जिम्मेवारीमा, कोही संसदमा र कोही स्थानीय तहमा रहेर काम गरिरहेको उल्लेख गर्दै उनले यस विषयलाई लिएर अनावश्यक चर्चा–परिचर्चा गर्न आवश्यक नरहेको बताए । पार्टीका सबै नेता–कार्यकर्ताले आ–आफ्नो स्थानमा रहेर जिम्मेवारी निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।