सरकारलाई मानव-अधिकार आयोगले भन्यो : युद्ध प्रभावित मुलुकमा रहेका नेपालीहरुको सुरक्षा र उद्धारमा ध्यान दिनू


काठमाडौं, १७ फागुन ।राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई युद्ध प्रभावित मुलुकमा रहेका नेपालीहरुको सुरक्षा र उद्धारमा ध्यान दिन आग्रह गरेको छ । आज (आइतबार) आयोगले एक विज्ञप्ति जारी गर्दै इरानमा भएको इजरायल–अमेरिकी आक्रमणका कारण मध्यपूर्वी मुलुकहरुमा देखिएको अन्यौलग्रस्त अवस्था र त्यसबाट त्यस क्षेत्रमा रहेका नेपाली नागरिकहरुमा पर्न जाने प्रभावकाबारे ध्यानाकर्षण भएको जनाएको हो ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘राज्य नागरिकको अविभावक भएको हुँदा विश्वका जुनसुकै मुलुकमा रहेका भए पनि आफ्‌ना नागरिकको सुरक्षा, संरक्षण र आवश्यकताअनुसार उद्धार गर्नु राज्यको दायित्वभित्र पर्दछ । यस विषम परिस्थितिमा सरकारले युद्धग्रस्त तथा प्रभावित देशहरुमा रहेका आफ्‌ना नागरिकको सुरक्षा र संरक्षणका लागि तथ्याङ्क सङ्कलन गर्ने, पछिल्लो वस्तुस्थितिको बारेमा आवश्यक जानकारी लिने र जोखिममा रहेका नागरिकहरुलाई उद्दार गरी स्वदेश फर्काउन तत्काल पहलकदमी लिनुपर्दछ ।’