काठमाडौं, फागुन १८ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रङहरूको उत्सवका रूपमा मनाइने फागुपूर्णिमा (होली) ले हाम्रो समाजको जातीय, भाषिक र सांस्कृतिक विविधतालाई उजागर मात्र नगरेर राष्ट्रिय एकताको सन्देश पनि दिने उल्लेख गरेका छन् । होलीको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै उनले नेपाली समाजमा मनाइने विविध सांस्कृतिक तथा ऐतिहासिक महत्वका चाडपर्वमध्ये फागुपूर्णिमा आपसी प्रेम र एकताको एक विशिष्ट पर्व भएको बताएका छन् ।
नेपालका सबै भूगोल, जातजाति, भाषा, धर्म, चाड, पर्व, कला, संस्कृति, परम्परा र रीतिरिवाजको विविधता नै नेपालको सुन्दर र विशिष्ट पहिचान हो । नेपालको हिमाली र पहाडी क्षेत्रमा फागुन १८ गते तथा तराईमा फागुन १९ गते अत्यन्त उत्साहका साथ एक–अर्कालाई रङ लगाई खुसी साटासाट गर्दै यो पर्व मनाइन्छ ।
सभापति थापाले विविध रङहरूजस्तै हाम्रो समाज पनि विविधतापूर्ण रहेको र यही विविधताबीचको एकता नै नेपालीको विशिष्ट पहिचान भएको उल्लेख गरेका छन् । उनले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिने यो पर्वले पारिवारिक स्नेह, आपसी मेलमिलाप, सहिष्णुता र सामाजिक सद्भावलाई अझ सुदृढ बनाउन सबैलाई प्रेरणा प्रदान गर्ने बताएका छन्।
यसपटक फागुपूर्णिमासँगै हामी प्रतिनिधिसभा सदस्य निर्वाचन लोकतान्त्रिक अभ्यासको एक महत्वपूर्ण उत्सवको सम्मुखमा छौँ । निर्वाचन सफल, शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न हुनेछ भन्ने विश्वास लिएको छु । लोकतन्त्रलाई संस्थागत गर्न र समुन्नत राष्ट्र निर्माणका लागि फागुन २१ को निर्वाचनमा उत्साहपूर्वक सहभागी भई आफ्नो मत प्रकट गर्न सम्पूर्ण नेपालीमा अपिल गर्दछु”, सभापति थापाले उल्लेख गरेका छन् ।




प्रतिक्रिया