काठमाडौं, फागुन १८ । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएको उडानमा हवाईयात्रुको चाप बढेको छ । आगामी बिहीबार हुने निर्वाचनको मिति नजिकिँदै गर्दा यहाँ भित्रिनेभन्दा बाहिरिने यात्रुको सङ्ख्या बढ्दै गएको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलका सूचना अधिकारी तेजबहादुर पौड्यालका अनुसार पछिल्लो समय आन्तरिक उडानतर्फ दैनिक १४ हजार हाराहारी यात्रुले काठमाडौंबाट ओहोरदोहोर गर्दै आएका छन् । हाल काठमाडौंबाट दैनिक करिब १३० उडानबाट भरिभराउ यात्रु बाहिरिने गरेका छन्।
विगतका निर्वाचनमा आन्तरिक उडान ठप्प हुँदै आए पनि यस पटक मतदानका दिन पनि आन्तरिक र अन्तर्राष्ट्रियतर्फको हवाई उडान नियमित रहने जानकारी दिँदै उहाँले फागुन २१ गते उडानको टिकट भएका यात्रुले ढुक्कसँग यात्रा गर्न सक्ने बताउनुभयो।
निर्वाचनका लागि मतदाता गन्तव्यतर्फ लाग्न थालेसँगै अहिले वायुसेवा कम्पनीको व्यापारसमेत दसैँतिहारमा जस्तै बढेको छ । कार्यालयका अनुसार निर्वाचनअघिका तीन दिन र निर्वाचनपछिका दुई दिन हवाई उडानमा अत्यधिक चाप हुने देखिएको छ । मध्यपूर्वमा देखिएको तनावका कारण रोकिएको अन्तर्राष्ट्रियतर्फको उडान आज पनि नहुने भएको छ ।




प्रतिक्रिया