सप्तरी १८, फाल्गुन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आम मतदातालाई सार्वजनिक अपिल गर्दै केही तत्वबाट सुनियोजित ढङ्गले फैलाइएको भ्रम, हल्ला र अफवाहको षड्यन्त्रपूर्ण जालदेखि सचेत रहन आग्रह गरेका छन्।
सप्तरी निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका अध्यक्ष यादवले चुनाव प्रचारको आज अन्तिम दिन स्पष्ट शब्दमा भनेका छन्, “निर्णायक क्षणमा जनताको मत कमजोर पार्न अनेक शक्ति सक्रिय छन्। योजनाबद्ध रूपमा फैलाइएको क्षणिक भ्रमले इतिहास बिर्सन लगाउन खोजिएको छ। तर सचेत मतदाता भ्रमित हुँदैन, ऊ आफ्नो संघर्ष सम्झन्छ।”
अपील गर्दै अध्यक्ष यादवले भनेका छन्,”क्षणिक प्रलोभन र अफवाहको लहरमा नबग्नुहोस्। आफ्नो त्याग, आफ्नो इतिहास र आफ्नो स्वाभिमान सम्झनुहोस्। अधिकारको रक्षा गर्ने निर्णय लिनुहोस्। सचेत मत, बलियो मधेस, सुरक्षित भविष्य, यही हाम्रो साझा संकल्प हो।”
अध्यक्ष यादवले मधेसको अधिकार, पहिचान र स्वाभिमान कुनै दान होइन, बलिदानको उपलब्धि भएको स्मरण गराएका छन्। “यो अधिकार कसैले उपहार दिएको होइन, मधेसले सडकमा र संसद्मा लडेर हासिल गरेको हो”, उनले भने, “मधेसको दुःखसुखमा, आँसु र संघर्षमा निरन्तर साथ दिएको एउटै शक्ति एउटै हो, जसपा नेपाल।”
संघीयता, स्वायत्तता र लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहन आग्रह गर्दै उनले भनेका छन्, “आजको मतदान केवल प्रतिनिधि चयन होइन, यो मधेसको भविष्यको दिशानिर्देश हो। यदि हामी चुक्यौँ भने अधिकार संकुचित हुन्छ, यदि दृढ भयौँ भने इतिहास सुरक्षित रहन्छ।”
मधेस कमजोर पार्ने षड्यन्त्र अन्ततः संघीयता कमजोर पार्ने योजना हो। मधेस झुक्यो भने अधिकार सुक्छ, मधेस उठ्यो भने लोकतन्त्र मजबुत हुन्छ, उनले भने।




प्रतिक्रिया