काठमाडौं, १८ फागुन । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी ५ वर्ष सर्लाही–४ को सेवकको रूपमा काम गर्ने बताएका छन् । सर्लाही–४ मा रहेका थापाले सो क्षेत्रमा एउटा सांसदको कार्यालयसमेत स्थापना गर्ने बताएका छन् । थापाले आफू मधेश र काठमाडौं जोड्नको लागि सर्लाहीमा चुनावमा उठेको बताउँदै आएका छन् । उनले आज मतदाताहरुसँगको कुराकानीमा क्षेत्रका जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने बताए ।
उनले भने,‘मैले यहाँ एउटा सांसदको कार्यालय स्थापना गर्छु। त्यस्तै कार्यालय काठमाडौंमा हुन्छ। यो कार्यालय सबैको लागि सधैँभरि खुल्ला रहन्छ। यो कार्यालयमा मसँग सम्बन्ध राख्नका निम्ति बिचमा अरू कोही पनि नेता चाहिँदैन। मसँग मेरो मतदाताको प्रत्यक्ष सम्बन्ध र सम्पर्क हुन्छ। महिनामा एकपटक अनिवार्य रूपमा दुई दिनको लागि त्यो कार्यालयमा जनताको दरबार लाग्छ। जहाँ सबैले आएर आफ्ना विषयहरू खुल्ला रूपमा राख्नुहुन्छ।’
उनले क्षेत्रका जनतालाई कहिल्यैपनि धोका र शीर निहुरिने काम नगर्ने वचन दिएका छन् । उनले भने,‘मबाट बेइमानी हुँदैन। मबाट तपाईंहरुलाई कुनै धोकाधडी हुँदैन। मैले पूर्वाधारको जति पनि कामहरू जिम्मा लिएको छु, ती सबै कामहरू मैले हात हालेको कामहरू मैले सम्पन्न गराएर छाड्छु। यहाँको विद्यालयको अवस्था अब यस्तो रहँदैन। यहाँको स्वास्थ्य चौकीको अवस्था अब यस्तो रहँदैन। यहाँको मैले हेरेँ, दलितको बस्ती हेरेँ। मैले यहाँ अरू पनि थुप्रै विपन्न समुदायहरूको बस्ती हेरेँ। मलाई बडो दुःख लागेको छ। अहिले पनि मानिसहरू यस्तो घरमा बसिरहेका छन् भन्ने मलाई अनुमान पनि थिएन।’




प्रतिक्रिया