‘अब आश्वासन हैन, खानेपानी, सडक र रोजगार देऊ’


तानसेन (पाल्पा), १८ फागुन । पाल्पा क्षेत्र नं २ को तिनाउ गाउँपालिका–४ सत्यवतीका मीनबहादुर चौहानले हरेक पटकका निर्वाचनमा पानी ल्याइदिन भने पनि आफूहरुको समस्या कसैले नसुनेको बताए ।

उनले भने, “चैत, वैशाख लाग्नासाथ गाउँमा आउने खानेपानीका मुहान सुक्छन् । त्यसपछि बिहानै उठेर पिउने पानी खोज्दै खोल्साका कुवा धाउनुपर्छ । सबेरै नजाने हो भने कुवाको पानी पनि नपाइने चिन्ता हुन्छ, ।” हामीलाई जसले खानेपानी ल्याइदिन्छ उसैलाई भोट दिने उनको भनाइ छ ।

यो समस्या उहाँको मात्र होइन यस क्षेत्रका ३५० परिवार वर्षौंदेखि खानेपानी समस्या भोग्दै आएका छन् । तिनाउ कचलका थर्कबहादुर बगालेले विगतमा धेरै पार्टीका नेताले स्थानीयको सबै माग पूरा गर्ने भन्दै निवार्चनका बेला झुक्याएर भोट लिए पनि यसपटक भने विगतमा जस्तो प्रतिबद्धता मात्र जनाउने तर काम नगर्नेलाई कुनै हालतमा भोट नदिने बताउँछन् ।

तदाताको मागप्रति बेवास्ता गर्ने र आफ्नो मात्र फाइदा उठाउनेलाई भोट नदिने गाउँलेहरूले निर्णय गरेको उनले बताए । “जसले स्थानीयको माग पूरा गर्छ । त्यसले भोट पाउँछ । नेतालाई भोट चाहिएको छ भने जनताको समस्या बारेमा बुझ्न जरुरी छ । अब पहिलाको जस्तो जनतालाई भ्रममा नपारे हुन्छ”, बगालेले भने ।

आर्यभञ्ज्याङ–रामपुर सडक बनाउने आश्वासन दिएर नेताहरुले मत मागेको तीन दशक भयो । यही सडकका नाममा उम्मेदवारहरुले मत मागेर चुनाब जिते, सदनमा पुगे तर सडकको अवस्था उस्तै छ । जब–जब निर्वाचन नजिक आउँछ, तब यस क्षेत्रका उम्मेदवारले छिट्टै सडक बन्ने आश्वासन दिन्छन् । तर जितेर गएपछि अवस्था उस्तै । यसपटक भने जनताले उम्मेदवारलाई बाटो बनाएको खै ? भनेर सोध्न थालेका छन् । सिलुवाका मानबहादुर बयम्वु यो सडक बनाउँछु भनेर नबनाउने उम्मेदवारलाई प्रश्न गरेको बताउँछन् । पाल्पाको आधा भागमा फैलिएको यो सडक सिद्धार्थ राजमार्ग भन्दा पनि पहिलेदेखि प्रयोगमा थियो ।

स्थानीयले जनश्रमदानबाट बनाएको यो सडक पछिल्ला वर्षहरुमा सङ्घ र प्रदेश सरकारको चासोमा नपरेपछि बिग्रँदो अवस्थामा छ । स्थानीय कमला श्रेष्ठ पटकपटक सडक बनाउने आश्वासन दिएर पनि नबनाएका कारण यसपटक मत बदल्ने बताउँछन् । उनल जसले सडक बनाउने विश्वास दिलाउन सक्छ, उसैलाई भोट दिने बताए । यो घिउ, अदुवा, सुठोसँग लत्ता कपडा, नुन मसला र मटितेल साट्न बुटबल जाने बाटो पनि थियो ।

जब उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर बन्यो तब, यो सडक अलपत्र भयो । कसैको चासोमा परेन । २०६३ सालमा जिल्ला विकास समितिले कालोपत्रे गरेको यो सडकमा दैनिक सय भन्दा बढी ठूला साना सवारीका साधन गुड्छन् । यही सडकलाई रामपुरदेखि छहरा हुँदै सल्ल्यानको कपुरकोटसम्म जोड्ने र यसको नामकरण कृष्ण सेन इच्छुक मार्ग भन्ने लुम्बिनी प्रदेश सरकारले उद्घोष गरे पनि आर्यभञ्ज्याङ–रामपुर खण्डमा बजेट छैन् ।

बगनासकाली–१, घोरबन्दाकी सुमित्रा कुमालले पनि प्रत्येक निर्वाचनमा गाउँमा आएर उम्मेदवारले आश्वासन बाँडे पनि स्थानीयका समस्या हल नगरेको गुनासो गरिन् । ५० प्रतिशत कुमाल समुदायको बसोबास रहेको यहाँका अधिकांश मतदाताको मजदुरी नगरी साँझ– बिहान चुलो बल्दैन ।

“केही वर्षअघिसम्म त ज्याला मजदुरी गरेर पनि गुजारा चलाउन सकिन्थ्यो तर अहिले त काम खोज्दै बजार गयो, ज्याला मजदुरी नपाउने अवस्था छ,” सुमित्राले भनिन्, “यहाँ रोजगार नपाएपछि गाउँका युवा जति विदेशतिर गए । गाउँमा त बूढाबूढी मात्र छन् ।”

उनले गाउँमै गरिखाने वातावरण बनाई दिनेलाई भोट दिने बताइन् । “धेरै पटक मतदान गरिसकेँ तर कुनै पनि नेताले आफ्नो वाचाअनुसार काम गरेको देखिँदैन । देशमा भनेजस्तो रोजगार नहुँदा दिनहुँ लाखौँ युवा विदेसिनु पर्ने बाध्यता छ”, उनले भनिन्, “देशमै कृषि गरौँ भने पनि भनेको बेला सिँचाइ, मल, बीउ नपाउने समस्या छ ।” यहाँका अधिकांशले दैनिक मजदुरी नगरे खान पाउँदैनन् ।

सदरमुकामदेखि नजिकको बस्ती भए पनि बेरोजगारीसँगै स्वास्थ्य र शिक्षाको अभाव छ । रैनादेवी छहराका तुलबहादुर पोखरेलले नयाँ पुराना पार्टीले जनताको हितमा काम गर्न नसकेको गुनासो गरे । लामो इतिहास बोकेका र भर्खर खुलेका पार्टीको विकास तथा सुशासन स्थापित गर्ने एउटै धारणा हुनुपर्ने उनको भनाइ छ ।

विकट गाउँ बस्तीका नागरिक आधारभूत सेवा पाउनबाट वञ्चित रहेका सुनाउँदै चुनाव जितेपछि उनीहरुको समस्या बुझेर काम गर्ने नेताको आवश्यकता रहेको पोखरेल बताउँछन् । “मैले धेरै चुनावमा भाग लिए, चुनाव जितेकाहरुले केही गर्दै नगरेका त होइनन्, तर उनीहरुले जति गर्नुपर्ने हो त्यति गरेनन्, अब आउने नेतृत्वले हरेक नागरिकको समस्या बुझेको हुनु पर्छ”, उनले भने, “आफ्नो पार्टीका मान्छेलाई काखा अरूलाई पाखा गर्ने विभेदी नेता हुनुहुँदैन, निःस्वार्थी भावको नेतालाई जिताउन जरुरी हुन्छ ।”

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरु मतदाता रिझाउन घरदैलो गरिरहेका छन् । घरदैलोमा पुग्ने नेतालाई पाल्पाका मतदाताले खानेपानी, सडक र रोजगार सिर्जना गर्नुपर्ने माग गरेका छन् । हरेक चुनावमा आश्वासन मात्रै दिने तर चुनाव जितेपछि काम नगर्ने प्रवृत्ति दोहोरी रहेको उनीहरुको गुनासो छ । यहाँ ग्रामीण क्षेत्रका मतदाताहरुले आफूहरुको समस्या बुझ्ने नेतालाई भोट दिने बताएका छन् ।

मतदातालाई भेट्न घरदैलोमा पुग्नुभएका नेपाली कांग्रेस पाल्पा क्षेत्र नं २ का उम्मेदवार हिमालदत्त श्रेष्ठसमक्ष ती क्षेत्रका स्थानीयले विगतमा धेरै आश्वासन सुनिएको तर अपेक्षित विकास हुन नसकेको गुनासो व्यक्त गरेका थिए । सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत आवश्यकता अझै अधुरै रहेको उनीहरूको भनाइ थियो ।

गुनासो सुनेपछि उम्मेदवार श्रेष्ठले नागरिकका समस्यालाई गम्भीरतापूर्वक लिएको बताउँदै जनताको आवश्यकताअनुसार विकासका लागि आफूले पहल गर्ने बताएको छ । “हामी निर्वाचनका बेला आश्वासन दिन होइन, यहाँहरुका समस्या बुझेर समाधानका लागि काम गर्न उम्मेदवार बनेर आएका हौँ,” उनले भने ।

पाल्पा क्षेत्र नं २ बाट उम्मेदवार बनेका नेकपा (एमाले)का ठाकुर गैरेले देशमा राजनीतिक स्थिरता र विकासका योजनाहरू सफल पार्न एमालेको स्पष्ट बहुमत हुनुपर्नेमा जोड दिँदै भने, “मैले सधैँ पाल्पाको विकास र राष्ट्रियताको पक्षमा आवाज उठाउँदै आएको छु ।” यस क्षेत्रको शिक्षा, स्वास्थ्य र सिँचाइ मुख्य चुनौती रहेको र यहाँको जग बलियो बनाउन तथा गाउँमै कृषि, घरेलु उद्योगहरुको स्थापना गरी युवालाई उद्यमशीलता र रोजगार प्रदान गर्न आफूलाई विजयी बनाउन मतदातासँग उनको आग्रह थियो ।

पूर्वखोलाको वीरकोट पुग्नुभएका नेपाली कांग्रेस पाल्पा क्षेत्र नं १ का उम्मेदवार सन्दीप रानामगरसँग त्यहाँका नागरिकले सरकार नै नभएको जस्तो भान भएको बताएका छन् । रानालाई गाउँले जीवनको दुःखले दैनिक बसाइँ सरेर गाउँ रित्तो हुन थालेको मतदाताले बताएका छन् । “गाउँका बाटोघाटोको उस्तै बिजोग छ, स्वास्थ्य समस्या उत्तिकै छ,” स्थानीय नरबहादुर कामुले भने, “माथिको सरकार टाढै भयो–स्थानीय सरकारले पनि जनताका समस्याप्रति गम्भीर देखिँदैन ।”

गाउँमा अझै पनि खानेपानी, सिँचाइको समस्या जनताले भोगिरहेको उनी बताउँछन् । जनताको दैनिकी राम्रो बनाउन र सहज वातावरण गाउँमै रोजगार, छोराछोरी बाहिर जानुपर्ने अवस्थाको अन्त्य गरी गाउँमै फर्किएर रोजगारीलाई जोड दिएको कांग्रेस उम्मेदवार राना मगरले बताए । उम्मेदवार रानालाई सो क्षेत्रका बासिन्दाले ‘जितेपछि तपाईं पनि नआउने होला’ भन्दै शङ्का व्यक्त गरे ।

एमालेबाट उम्मेदवार बनेका नारायण आचार्यलाई पनि स्थानीय मतदाताले उही प्रश्न सोधका थिए । विगतमा गरिएका वाचा पूरा नभएकामा मतदाताको असन्तुष्टि थियो । उम्मेदवार आचार्यले विगतका कमीकमजोरीलाई सच्याउँदै जनताका समस्या समाधानमा आफू लाग्ने बताए । २०७८ सालमा भएको निर्वाचनमा यहाँका दुईवटै क्षेत्रमा एमालेका उम्मेदवार विजयी भएको थियो । क्षेत्र नं १ बाट नारायण आचार्य र क्षेत्र नं २ बाट ठाकुरप्रसाद गैरे निर्वाचित भएको थियो ।

यसअघिका निर्वाचन जितेको एमालेले मात्र होइन, सबै दलका उम्मेदवारले घोषणापत्रमा सडक खानेपानी, रोजगारका मुद्दालाई अगाडि ल्याएका छन् । यसअघि पनि यिनै मुद्दा देखाएर चुनाव जितेर गएपछि माग सम्बोधन नभएको स्थानीयको गुनासो छ । यही फागुन २१ को निर्वाचनमा यस जिल्लाबाट कांग्रेसले हिमालदत्त श्रेष्ठ, सन्दीप रानालाई उम्मेदवार बनाएको छ भने एमालेबाट नारायण आचार्य, ठाकुर गैरे, नेपाली कम्युनिष्ट पार्टीबाट सोमप्रसाद पाण्डेय र हुमबहादुर सुनारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट माधवबहादुर थापा र बिमल पन्त उम्मेदवार छन् ।

यस्तै, राष्ट्रिय जनमोर्चाबाट बालबहादुर दर्लामी र नरमती सिञ्जाली, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डुलबहादुर कुँवर र बृहस्पति अर्याल, नेसनल रिपब्लिक नेपालबाट देवप्रसाद श्रेष्ठ र थमनसिंह रेग्मी मगर, सार्वभौम नागरिक पार्टीबाट रामबहादुर अस्लामी, जनता समाजवादीबाट खिकबहादुर रेश्मी, राष्ट्रिय जनमुक्तिबाट टोपबहादुर अस्लामी, मङ्गोल नेसनल अर्गनाइजेसनबाट मानबहादुर दर्लामी र सलन चिदी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट विष्णु ठडराई र पुरन गैरे शर्मा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट बोधराज जैसी, नेपाल मजदूर किसान पार्टीबाट कृष्णशोभा मुस्याख्व हुनुहुन्छ । स्वतन्त्रबाट मोहनकुमार थापा, केशवप्रसाद बस्याल, कौशल अर्याल, डिल्लीराज काफ्ले, जुद्धबहादुर विरकट्टा र वाछावली मियाँ चुनावी मैदानमा रहेका छन् । -रामचन्द्र रायमाझी / रासस