लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते


बेरुत, १८फागुन  । लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगर र दक्षिणका विभिन्न क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा ३१ जनाको मृत्यु हुनुका साथै १४९ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ ।

विज्ञप्ति जारी गर्दै मन्त्रालयको जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रले बेरुतको दक्षिणी उपनगरमा २० जनाको मृत्यु हुनुका साथै ९१ जना घाइते भएको सोमबार जनाएको छ । यसै गरी दक्षिणी लेबनानमा भएको आक्रमणमा ११ जनाको मृत्यु भएको र ५८ जना घाइते भएको जनाउदै केन्द्रले मृतकको सङ्ख्या बढ्न सक्ने जनाएको छ ।

इजरायली आक्रमणहरूले, बेरुतको दक्षिणी उपनगरहरूलाई लक्षित गरेकाले दक्षिणी लेबनानबाट इजरायली संस्थातिर रकेट प्रक्षेपण गरेपछि विस्थापनको ठूलो मात्रामा लहर सुरु भएको जनाइएको छ ।

सन् २०२४ नोभेम्बर मा युद्धविराम सम्झौता लागु भए पछि पहिलो पटक इजरायली इकाई तिर रकेट प्रहार गरिएको जनाइएको छ ।

सन् २०२४ नोभेम्बर मा, लेबनानमा लागु भएको युद्धविराम सम्झौतामा ६० दिन भित्र दक्षिणी सीमावर्ती गाउँ र सहरहरूबाट इजरायली सेना फिर्ता लिन अनिवार्य गरिएको थियो । त्यसपछि, लेबनानी सरकार फेब्रुअरी १८ सम्म समयसीमा विस्तार गर्न सहमत भयो; यद्यपि, कब्जा सेना पाँच बिन्दुमा तैनाथ छ भने निरन्तर युद्धविरामको उल्लङ्घन जारी छ । रासस