शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएकोमा प्रचण्डले दिए धन्यवाद, सबै पक्ष मिलेर अघि बढ्ने घोषणा


काठमाडौं, २१ फागुन । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएकोमा धन्यवाद व्यक्त गरेका छन् । उनले एउटा जटील राजनीतिक परिस्थितिलाई सहजतातर्फ लैजान घोषणा भएको प्रतिनिधि सभाको निर्वाचन तमाम आशंका चिर्दै शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएको उल्लेख गरेका छन् ।

उनले फेशबुकमा लेखेका छन्-“म नेपाल सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सहभागी राजनीतिक दलहरू, नागरिक समाज एवम संपुर्ण मतदाताप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। मतदानमार्फत जनताले देखाएको उच्च सहभागिता, संयम र संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको विश्वासले हाम्रो प्रणालीलाई अझ सुदृढ बनाएको छ। आगामी दिनमा जनताको निर्णयलाई सम्मान गर्दै देश र जनताको हितमा सबै पक्ष मिलेर अघि बढ्ने विश्वास व्यक्त गर्दछु।”