निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवारी हस्तान्तरण गर्न आतुर छौँः गृहमन्त्री अर्याल


काठमाडौं, फागुन २३ । गत भदौमा भएको जेनजी आन्दोलनपछि गठन भएको सरकारको एउटा मात्रै जिम्मेवारी थियो, आवधिक निर्वाचन । छोटो समयमा निर्वाचन गर्ने जिम्मेवारीका साथ गठन भएको सरकारमा गृहमन्त्रालयको जिम्मेवारीमा आएका थिए, ओमप्रकाश अर्याल ।

जेनजी आन्दोलनका क्रममा कारागारबाट कैदी भागेका थिए, हातहतियारहरु पनि लुटिएका थिए । राजनीतिक दलप्रति आममानिसमा विश्वास गुमेको अवस्था थियो । सुरक्षा मुख्य चुनौती थियो । आम मानिसमा पनि समयमै निर्वाचन हुन्छ वा हुँदैन भन्ने संशय थियो ।

अन्ततः समयमै शान्तिपूर्ण रुपमा निर्वाचन भयो । बिहीबार निर्वाचनको जिम्मेवारी पूरा गरेपछि गृहमन्त्री अर्यालले भने, “एउटा महत्वपूर्ण जिम्मेवारी पूरा भयो, नागरिक सरकारले प्रमुख अभिभारा पूरा गरेको छ ।”

निर्वाचन सम्पन्न भएपछि शुक्रबार दिनभर जसो मन्त्री अर्यालले धन्यवाद तथा शुभकामनाका कैयौँ फोनकल, सन्देश प्राप्त गरिरहे । मन्त्रालयमै आएर बधाई दिनेहरुको संख्या पनि बाक्लो थियो । उनले शुभचिन्तकलाई भनृ, “आजबाट जिम्मेवारीको भारी बिसाएर हल्का महसुस भएको छ । मतपरिणामपछि नयाँ सरकारलाई जिम्मेवारी हस्तान्तरण गरेर फर्किन आतुर छौँ ।”

उनले यसका लागि प्रधानमन्त्री सुशीला कार्कीप्रति विशेष आभार व्यक्त गरे। साथै निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने गृहसचिव, मन्त्रालयका महाशाखा प्रमुखसहित सुरक्षा निकायका उच्च अधिकारीलाई धन्यवाद दिए। “निजामति प्रशासनलाई सधै दोष दिने गरिएको छ, त्यो मात्रै साँचो होइन, निजामतिको साथमै काम फत्ते भएका छन् खाली नेतृत्व कस्ले कसरी गरेको छ भन्ने महत्वपूर्ण कुरा हो”, गृहमन्त्री अर्यालले भने।

राष्ट्रपतिको निर्देशन र प्रधानमन्त्रीको नेतृत्वमा सम्बद्ध सबै पक्षको सहयोगका कारण मुलुकभर एकै चरणमा मतदान कार्य सम्पन्न भएको उनको बुझाइ छ । अहिले देशभर मतगणना कार्य जारी छ । केही क्षेत्रको नतिजा पनि आइसकेको छ ।

लोकतान्त्रिक प्रकृयाको महत्वपूर्ण अभ्यासको रूपमा रहेको निर्वाचनमार्फत जनादेश लिनु संवैधानिक र कानुनी दृष्टिले सर्वोत्तम पक्ष हो भन्दै उनले यस निर्वाचनको माध्यमबाट संविधान कार्यान्वयन एवम् नेपाली जनताले प्राप्त गरेको हक अधिकारको संस्थागत गर्नमा महत्वपूर्ण उपलब्धी हासिल भएको उल्लेख गरे ।