हार स्वीकार्दै प्रदीपले भने-यी अप्ठ्यारा दिनहरू पनि बितेर जानेछन्


काठमाडौं, फागुन २३ । नेकपा (एमाले) का उम्मेदवार प्रदीप ज्ञवालीले पराजय स्वीकार गर्दै प्रतिस्पर्धी उम्मेदवारलाई बधाई दिएका छन् । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत गुल्मी–१ को मतगणना अन्तिम चरणतिर पुग्दा ज्ञवालीले सामाजिक सञ्जालमार्फत राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाललाई बधाई दिदै आफूले यस्तो परिणामको अपेक्षा नगरेको उल्लेख गरेका छन् ।

लोकतन्त्रमा जनताको फैसला सर्वोपरि हुने भएकाले जनादेशलाई सम्मान गर्ने बताउँदै उनले गुल्मीको विकास र जिल्लावासीको सुखदुःखमा आफू सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन् । निर्वाचन आयोगका अनुसार त्यहाँ रास्वपा उम्मेदवार सागर ढकालले २० हजार ८६० मत पाउँदा निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार प्रदीप ज्ञवालीले ११ हजार ६४६ मत पाएका छन् ।

उनले लेखेका छन्

गुल्मी-१ को मतगणना उत्तरार्धतिर पुग्दैछ । विजयोन्मुख श्री सागर ढकाल र रास्वपालाई अग्रीम बधाई !
शान्तिपूर्ण र स्वस्थ रूपमा निर्वाचन सम्पन्न गराउनु हुने मुख्य निर्वाचन अधिकृत, प्रजिअ लगायत सबै सुरक्षा निकाय र कर्मचारी मित्रहरूलाई धन्यवाद ।
निर्वाचनमा अहोरात्र खट्नुहुने सबै कमरेडहरूप्रति अगाध माया र सम्मान ।
यस्तो परिणामको अपेक्षा थिएन । तर लोकतन्त्रमा जनताको फैसला सर्वोपरि हुन्छ । त्यसैले जनादेशप्रति सम्मान छ ।
जिल्लाको विकास र जिल्लावासीहरूको सुखदुखमा मलाई हमेशा साथमै पाउनु हुनेछ ।
यी अप्ठ्यारा दिनहरू पनि बितेर जानेछन् ।
भवतु सब्ब मङ्गलम् !