काठमाडौँ, २३ फागुन । नेकपा (एमाले) का नेता विष्णुप्रसाद पौडेल ले रुपन्देही जिल्ला क्षेत्र नं. २ को निर्वाचन परिणाम स्वीकार गर्दै विजयी उम्मेदवार सुलभ खरेललाई बधाई दिएका छन्।
पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेललाई निर्वाचनमा विजय हासिल गरेकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्। पौडेलले खरेलले क्षेत्रका जनताका अपेक्षाअनुसार काम गर्दै रुपन्देहीको विकास र समृद्धिको यात्रालाई अझ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्।
पौडेलले लोकतन्त्रको सुन्दरता जनताको अभिमतमा रहेको उल्लेख गर्दै मतदाताहरूले दिएको निर्णयलाई सहर्ष स्वीकार गरेको बताएका छन्। उनले निर्वाचनमा हार–जित स्वाभाविक प्रक्रिया भएको पनि बताएका छन्।
उनले रुपन्देही विशेषगरी क्षेत्र नं. २ लाई आफ्नो जीवनको अभिन्न हिस्सा र कर्मभूमि भएको उल्लेख गर्दै पदमा रहे वा नरहे पनि क्षेत्रको विकास र जनताको सुख–दुःखमा आफ्नो साथ निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
सन्देशमार्फत उनले निर्वाचनमा आफूलाई विश्वास गरेर मतदान गर्ने मतदाताहरू तथा आ–आफ्नो विश्वासका आधारमा विभिन्न चुनाव चिन्हमा मतदान गर्ने सबै मतदाताप्रति सम्मान व्यक्त गरेका छन्।
यसैगरी उनले चुनावी अभियानमा सक्रिय रूपमा खटिने नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई धन्यवाद दिएका छन्। साथै निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी तथा सञ्चारमाध्यमप्रति पनि आभार व्यक्त गरेका छन्।
पौडेलले पार्टीका कार्यकर्तालाई निर्वाचन परिणामबाट विचलित नहुन आग्रह गर्दै राजनीति लामो यात्रा भएको र उतारचढाव आउनु स्वाभाविक भएको बताएका छन्। उनले विगतका कमजोरीहरूको समीक्षा गर्दै जनअपेक्षा अनुसार पार्टीलाई रूपान्तरण गर्दै जनताको सेवामा समर्पित रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।




प्रतिक्रिया