काठमाडाैँ,२५ फागुन। इन्डोनेसियाको राजधानी जकार्ताबाट करिब २५ किलोमिटर टाढा रहेको बान्तारगेबाङ फोहोर डम्पिङ स्थलमा आइतबार दिउँसो भएको पहिरोमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने पाँच जना अझै बेपत्ता रहेका छन्। राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले सोमबार उद्धारकार्य तीव्र रूपमा जारी रहेको जनाएको छ।
उद्धारकर्मीहरूले अवरुद्ध क्षेत्र खोल्न भारी उपकरणको प्रयोग गरिरहेका छन् भने सम्भावित पीडितको खोजीका लागि तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ। पहिरोले त्यहाँ रहेका ट्रक र सडकछेउका खाद्य पसलहरू पुरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। लगातार परेको भारी वर्षापछि डम्पिङ स्थलमा पहिरो गएको बताइएको छ।
जकार्ता र वरपरका सहरहरू मिलेर बनेको जाबोडेटाबेक क्षेत्रमा करिब चार करोड २० लाख मानिस बसोबास गर्छन् र दैनिक करिब १४ हजार टन फोहोर उत्पादन हुन्छ। बान्तारगेबाङ डम्पिङ स्थल करिब ११० हेक्टर क्षेत्रफलमा फैलिएको छ र यहाँ झण्डै पाँच करोड ५० लाख टन फोहोर थुप्रिएको छ।
पर्यावरणमन्त्री हनिफ फैसोल नुरोफिकले खुलेआम फोहोर थुपार्न प्रतिबन्ध भए तापनि कानुनको प्रभावकारी कार्यान्वयन नभएको भन्दै स्थानीय प्रशासनलाई जिम्मेवार ठहर गरेका छन् । उनले यस घटनालाई चेतावनीका रूपमा लिँदै जकार्तामा फोहोर व्यवस्थापन प्रणाली सुधार गर्नुपर्ने बताए ।
राष्ट्रपति प्राबोवो सुबियान्तोले इन्डोनेसियाका अधिकांश डम्पिङ स्थल सन् २०२८ सम्ममा आफ्नो क्षमता नाघ्ने चेतावनी दिँदै आगामी दुई वर्षभित्र फोहोरबाट ऊर्जा उत्पादन गर्ने ३४ परियोजनामा करिब तीन अर्ब ५० करोड डलर लगानी गर्ने योजना सरकारले अघि सारेको जानकारी दिएका छन् ।
यसअघि सन् २००५ मा पश्चिम जाभामा फोहोर डम्पिङ स्थलमा भएको पहिरोमा मिथेन ग्यास विस्फोट र भारी वर्षाका कारण १४३ जनाको मृत्यु भएको थियो।




प्रतिक्रिया