जति नै ठूलो पार्टी भएपनि रास्वपा एउटा बन्धनभित्रै छ, अहिले प्रचण्डले राजीनामा दिनुपर्दैन् : किराती (भिडिओ–सहित)


काठमाडौं, २७ फागुन । नेपाली कम्युनिष्ट पार्टीका प्रभावशाली नेता गोपाल किरातीले अहिलेको निर्वाचनमा पार्टीले व्यहोरेको हारको जिम्मा सबैले लिनुपर्ने भएकोले अहिले नै संयोजक पुष्पकमल दाहालले राजीनामा दिन नपर्ने बताएका छन् । उनले भने,‘अहिले प्रचण्डले राजीनामा दिनुपर्दैन् । अब उहाँले आँफै म पदमा बस्दिनँ भन्नुभयो भने समातेर राख्ने कुरा त भएन, तर उहाँले राजीनामा दिनुपर्ने कुरा राजनीतिक र नैतिकता दुवै कारणले पनि होईन ।’

आज (बुधबार) विहान प्राइम टिभीबाट प्रसारण भएको ‘प्राइम सम्वाद’ कार्यक्रममा पत्रकार कृष्ण मल्लसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । शेरबहादुर देउवा र आरजु राणाको यथास्थितिवादी राजनीति र केपी ओलीको स्वेच्छाचारी कार्यशैलीको र भूराजनीतिक खेलबाडको कारणले भदौ २३ र भदौ २४ गतेको घटना घटेको उनको आरोप छ । २१ फागुनमा सम्पन्न भएको निर्वाचनमा अहिले आएको परीणामलाई कानूनी रुपमा आफूहरुसँग स्विकार गर्नुको विकल्प नभएको उनको भनाई छ ।

रास्वपाले धेरै जित्यो भन्दैमा आकाश नै खस्यो र धर्ती नै हल्लियो भनेर मानिराख्न जरूरी नभएको पनि किरातीको टिप्पणी छ । ठूलो पार्टी भएपनि रास्वपा एउटा बन्धनभित्रै रहेको उनको टिप्पणी छ । भदौमा नै यो संविधान खारेज गरिदिएको भए अहिले संविधान जारी गर्नेहरुको अवस्था काकाकुल हुने थियो भन्ने उनको टिप्पणी छ ।