प्रधानन्यायाधीशको लागि ६ न्यायाधीशहरुको नाम सिफारिश, नियुक्त हुन समय लाग्ने


काठमाडौं, २७ फागुन । ६५ वर्ष उमेर हदका कारण प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत चैत १८ गतेदेखि अनिवार्य अवकाशमा जाँदैछन्। नयाँ संसद् आईसकेको छ । तर, प्रतिनिधिसभाले पूर्णता पाउनको लागि अझै एक साता लाग्ने भएको छ ।

संवैधानिक प्रावधानअनुसार सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति गर्ने समय केही घर्किसकेको छ। निर्वाचन आयोगले प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फको मतपरीणाम सार्वजनिक गरिसकेको छ । तर, समानुपातिकतर्फको सिट संख्या मिलाउन बाँकी रहेकोले अन्तिम परीणाम राष्ट्रपतिसमक्ष बुझाउन समय लाग्ने भएको छ ।

अहिले प्रधानमन्त्री, सभामुख, उपसभामुख र विपक्षी दलको नेता चयन भइनसकेको अवस्था छ । संसद् आएर यी पद टुँगो नलागेसम्म संवैधानिक परिषद्ले पूर्णता पाउँदैन । प्रधानन्यायाधीशको नियुक्तीको लागि संवैधानिक परिषद्ले पूर्णता पाउनुपर्ने संवैधानिक व्यवस्था भएकोले यसले पूर्णता पाएपछि नै यो नियुक्ति अघि बढ्नेछ ।

न्याय परिषदले प्रधानन्यायाधीश नियुक्तिका लागि सर्वोच्चका ६ जना न्यायाधीशलाई योग्य देखेको छ। वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश बन्न योग्य छन्। न्याय परिषद्ले यी ६ जनाको नाम नै संवैधानिक परिषदमा सिफारिश गरेको छ । अब संवैधानिक परिषदले योग्यता, क्षमता, निष्पक्षता र औचित्यका आधारमा उनीहरूमध्ये एक जनालाई प्रधानन्यायाधीशका लागि सिफारिस गर्नेछ। संवैधानिक परिषद्को अध्यक्षता प्रधानमन्त्रीले गर्ने भएकोले नयाँ सरकार बनिसकेपछि नै अब प्रधानन्यायाधीश सिफारिस हुनेछ । निर्वाचन आयोगको अनुसार नयाँ सरकार पाउनको लागि चैत्र दोस्रो साता कुनुपर्नेछ । अहिलेसम्म प्रधानन्यायाधीश वरिष्ठताको आधारमा सिफारिस हुँदै आएको छ।

संविधानको धारा १२९ मा नेपालको प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको नियुक्ति र योग्यतासम्बन्धी व्यवस्था रहेको छ। त्यसैअनुसार प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढ्नेछ। राजनीतिक भागबण्डाको आरोप खेपिरहेको न्यायाधीश नियुक्तिलाई सुधार गर्नुपर्ने आवाज उठ्दै आएको छ। त्यसैले यसपटक संवैधानिक परिषद्ले कस्तो सिफारिश गर्छ भन्ने विषय कौतुहलताको विषय बनेको छ । पछिल्लो समय न्यायलय सुधारको आवाज पनि उठिरहेको छ ।