निर्वाचनमा अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेपनि जनताकै बीचमा रहन्छु : ओली


काठमाडौं, फागुन २८ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा आफूले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेपनि जनताकै बीचमा रहने बताएका छन् । ओलीले सामाजिक सञ्जाल मार्फत यसपटकको प्रतिनिधि सभा सदस्य निर्वाचनमा अपेक्षा गरेजस्तो मत पाउन नसकेपनि जनताकै बीचमा रहने र जनताकै लागि काम गरेर विश्वासको सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्ने जनाएका हुन् ।

यस्तो कठिन समयमा पनि सूर्य चिन्हमा मतदान गर्ने सबै मतदातालाई ओलीले धन्यबाद दिँदै ओलीले एमालेको पक्षमा उभिने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति धन्यवादसमेत व्यक्त गरेका छन् ।
उनले लेखेका छन्,

दिदीबहिनी तथा दाजुभाइहरू,
यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु।
यस कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो। तपाईंहरूको साथ नै हाम्रो ताकत हो। ❤️
निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन। तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन।
हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ।
मत दिनुहुने, साथ दिनुहुने, विश्वास राख्नुहुने सबैमा हृदयदेखि धन्यवाद।