नेपालको युवा पुस्ता देशलाई नेतृत्व प्रदान गरेर समृद्धिको यात्रामा अघि बढाउन सक्षम छन् : डा. भट्टराई


काठमाडौं, २८ फागुन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा जेन-जी पुस्ता र युवा पुस्ता देशको नेतृत्वमा आएकोमा खुशी व्यक्त गरेका छन् । भारतमा आयोजित एनएक्सटी २०२६ सम्मेलनको राउण्ड टेवललाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

नेपाली युवा नेताहरुले अब देशको नेतृत्व लिँदै देशलाई समृद्धिको यात्रामा अघि बढाउन सक्षम रहेको कुरा उनले उल्लेख गरेका थिए । नेपाल भारत र चीनबीच पुल बन्नसक्ने पनि उनले टिप्पणी गरेका छन् । भट्टराईको सचिवालयले दिएको जानकारीअनुसार उनले प्रविधिको कारण पनि विश्व नै एक परिवार भन्ने अवधारणा व्यवहारमै पुष्टि भएको कुरा उल्लेख गरेका छन्।

नेपालले भारतको आर्थिक विकासबाट लाभ लिनसक्ने कुरा उनको भनाई थियो । विश्व राजनीति र आर्थिक अवस्थामा द्रुततर परिवर्तन आएकोले नेपालजस्तो सानो देशले रणनीतिक रुपमा यसलाई आत्मसात् गर्नसक्नुपर्ने उनको भनाई थियो । सो अवसरमा उनले दक्षिण एशियाका देशहरुले विकासको लागि नजिकबाट सहकार्य गर्नुपर्ने बताए ।