डिपी अर्याललाई गृहमन्त्री बनाउने रवि लामिछानेको तयारी, अर्थमा स्वर्णिम वाग्ले !


काठमाडौं, २९ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह सरकार गठनको गृहकार्यमा जुटेका छन् । प्रतिनिधिसभाको हालै सम्पन्न निर्वाचनमा पार्टीले दुई तिहाईनजिकको बहुमत ल्याएपछि यतिवेला रास्वपाको नेतृत्व पँक्ति सरकार निर्माणको लागि गृहकार्यमा जुटेको हो ।

पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा शक्तिशाली सरकार बन्न लागेकोले गृह, अर्थ, रक्षा र परराष्ट्रजस्ता संवेदनशील मन्त्रालयको नेतृत्वमा परिपक्व र योग्य व्यक्तिलाई पठाउने रास्वपाको तयारी छ । सभापति लामिछानेले यसअघि नै अर्थमन्त्रीको रूपमा उपसभापति डा. स्वर्णिम वाग्लेलाई अघि सारिसकेका छन् ।

कतिसम्म भने वाग्लेलाई सभापति लामिछानेले ‘डा. साहेब, अबको बजेट लेख्न थाल्नुहोस’ भनेर सार्वजनकि रूपमा भनेका थिए । बालेन सरकारमा अर्थमन्त्रीको रूपमा वाग्लेलाई नै अघि सारिएको छ । यद्धपी बालेनले के गर्छन् ? त्यो भने हेर्न बाँकी छ । अर्थ मन्त्रालयभन्दा पनि महत्वपूर्ण मानिएको गृह मन्त्रालयको नेतृत्वमा कसलाई पठाउने भन्ने विषयमा पनि रास्वपाभित्र बहस सुरु भएको बताईन्छ ।

सभापति लामिछानेले पार्टी हाँक्ने भएको हुँदा यसपटक दुवै जना उपसभापतिलाई सरकारमा पठाउने तयारी गरेका छन् । कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालिसकेका डिपी अर्याललाई गृह मन्त्रालयको नेतृत्व सुम्पिने लामिछानेको चाहना छ । तर, अहिले नै मन्त्रिमण्डल गठनको विषयमा कसलाई मन्त्री बनाउने भनेर व्यक्तिविशेषको तहमा लामिछाने र शाहबीच छलफल नभएको बताईन्छ ।

बरु, रास्वपाले नेतृत्व गर्ने सरकारको मन्त्रिमण्डल सानो बनाउने विषयमा दुवै नेता सहमत भएका छन् । रास्वपाले सार्वजनिक गरेको वाचापत्रअनुसार १८ जनाभन्दा बढि नरहनेगरि नै मन्त्रिमण्डल बन्नेछ । अझ बालेनको चाहना त १५ जनाको मन्त्रिपरिषद् बनाउने रहेको बताईएको छ ।

रास्वपाले चैत्रको दोस्रो साता वरिष्ठ नेता शाहको नेतृत्वमा सरकार बनाउने भएको हो । रास्वपा एक्लैले १८२ सिट जितेकोले पार्टीभित्र एकसे एक विज्ञहरु सांसद भएकोले वरिष्ठ नेता शाहलाई आफ्नो सरकारको टिम बनाउन कुनै समस्या छैन । यसपटक मधेशबाट डा. अमरेशकुमार सिंहले पनि शक्तिशाली मन्त्री बन्ने चाहना राखेका छन् ।

उनले पनि गृह मन्त्रालयमा नै आँखा लगाएको चर्चा छ । सभापति लामिछानेले गृह र अर्थ मन्त्रालयको नेतृत्वमा आफ्नो सिफारिशअनुसार सांसद पठाउने अडान लिएका छन् । त्यसो हुँदा उनले अर्थको नेतृत्वमा वाग्ले र गृह मन्त्रालयको नेतृत्वमा अर्याललाई पठाउने सम्भावना प्रवल छ ।

रूपन्देही–१ बाट चुनाव जितेका सुनिल लम्सालको पनि नाम गृहमन्त्री बन्ने भन्दै चर्चामा रहेको बताईन्छ । ५४ हजार ८४५ मत ल्याएर जित निकालेका लम्साल वरिष्ठ नेता बालेन्द्र शाहका विश्वासपात्र मानिन्छन् । शाहले उनलाई गृह मन्त्रालयको नेतृत्व सुम्पिनसक्ने अड्कलबाजी पनि गरिएको छ ।

आजमात्रै सभापति लामिछाने र वरिष्ठ नेता शाहबीच भेटवार्ता भएको छ । उनीहरुबीच समानुपातिकतर्फका सांसदहरुको नाम फाईनल गर्ने विषयमा भेट भएको बताईन्छ । लामिछाने भने पिसाबको संक्रमण भएको कारण घरमै आराम गरेर बसेको बताईएको छ । सो अवसरमा शाहले सभापति लामिछानेको स्वास्थ्यको जानकारी पनि लिएको बताईन्छ । file photo