विश्वको दोस्रो प्रदूषित सहरबाट १२ औँ स्थानमा उक्लीयो काठमाडौं


काठमाडौं, फागुन ३० । केही दिनयता काठमाडौं उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्न थालेको छ । बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकाङ्क १७८ हाराहारीमा रहेकामा आज मध्याह्नसम्म वायु गुणस्तर सूचकाङ्क १४९ कायम भएको एयर क्वालिटी इन्डेक्स (एक्युआइ) को तथ्याङ्कले देखाएको छ ।

बिहीबार मध्याह्नसम्म काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहरका रूपमा सूचीकृत भएकामा आज सोही समयमा बाह्रौँ स्थानमा झरेको छ । केही दिनयता मौसम धुम्मिँदै जाँदा वायु प्रदूषण बढेको थियो ।

एक्युआइको मापदण्डअनुसार ० देखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्छ । एक सय एकदेखि १५० ‘अस्वस्थ’ मानिन्छ, जसले विशेषगरी श्वासप्रश्वास तथा मुटु रोगीलाई असर गर्न सक्छ । एक सय ५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विगत २४ घण्टामा सबैभन्दा धेरै वर्षा वाग्मती प्रदेशको चितवनमा १२६.२ मिलिमीटर मापन गरिएको छ । त्यस्तै गण्डकी प्रदेशको लमजुङ घरेढुङ्गा केन्द्रमा १०२.२ मिलिमीटर र गोरखाको बारपाक केन्द्रमा ९० मिलिमीटर वर्षा मापन गरिएको छ । साथै कोशी प्रदेशको उदयपुर कटारीमा ९८.४ मिलिमीटर तथा झापाको चन्द्रगढी विमानस्थल केन्द्रमा ९६.४ मिलिमीटर वर्षा मापन गरिएको छ।