काठमाडौं, १ चैत्र । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले अब रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई फुटाउने षड्यन्त्र सुरु हुने बताएका छन् । उनले भने,‘बालेन र रविलाई फुटाउने अभियान त चल्छ, तर त्यो परिणाम आउन दिनुहुँदैन ।’
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि थपलियासँगको कुराकानीमा उनले अब पाँच वर्ष चुप लागेर बालेन शाहलाई प्रधानमन्त्री बनाउनुपर्ने बताए । उनले भने,‘जनताले भावी प्रधानमन्त्री बालेन भनेर ५० लाखले हस्ताक्षर गरेर दिएका छन् । खसेको मतको ५० प्रतिशत मत दिएका छन् । अब नेपालमा हुने भनेको प्रत्यक्ष कार्यकारीको चुनाव नै हो ।’ संसद्मा प्रतिपक्षीको उपस्थिति कमजोर भन्ने कथन नै गलत भएको भन्दै एक जनामात्रै सांसद पनि नैतिकवान भए राम्रो भूमिका खेल्नसक्ने उनको विश्लेषण छ ।
आचार्यले गगन थापा सभापति भएपनि कांग्रेस नयाँ नभएको टिप्पणी गरे । उनले भने,‘काँग्रेस कहाँ बदलिएको थियो ? शेरबहादुरको ठाउँमा गगन आउँदैमा कांग्रेस कहाँ बदलिएको थियो ? कांग्रेसको मेसेज के बदलिएको थियो ? परिणामले त कांग्रेस–२ फेल खायो ।’ यसपटकको निर्वाचनमा कांग्रेसमा कहीँ कतै अन्तरघात नभएको उनको दाबी छ ।
निर्वाचनको मतपरिणाम आउने क्रममा नै गगन थापाले सभापतिबाट राजीनामा दिनुपर्ने थियो भन्ने उनको भनाई छ । अब उपसभापति पुष्पा भुसाललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर तत्काल नियमित महाधिवेशनको लागि पहल गर्न थापालाई उनको सुझाव छ ।




प्रतिक्रिया