सीके राउतले लिए संसदीय राजनीतिबाट सन्यास


काठमाडौं, २ चैत्र । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । तर, पार्टी राजनीतिमा भने सक्रिय हुने उनको भनाई छ । उनले संघर्षको राजनीति जारी राख्ने घोषणा गरेका छन् । उनले पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व भने प्रदान गर्ने बताए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि थपलियासँगको कुराकानीमा उनले यस्तो घोषणा गरेका हुन् । उनले भने,‘दुई पटक व्यक्तिगत ईच्छा विपरीत संसदीय निर्वाचन लडें, एक पटक जीतें, एक पटक हारें। तर दुईटै पटक निर्वाचनमा भाग लिने निर्णयबाट खुशी नै छु।’

२०७९ सालको आमनिर्वाचन आफू नलड्ने तर पार्टी बनाएको संस्थापक अध्यक्षको हैसियतमा पार्टीलाई सफलतापूर्वक निर्वाचन पार गराइदिने विचार रहेको उनले स्मरण गराए । उनले भने,‘यसपछाडि मनमा अन्य कुनै लोभलालच पलाओस् वा पद–लालसा आओस्, वा मायाजालमा झन्झन् अल्झिँदै जाऊँ, त्योभन्दा अगाडि नै म सार्वजनिक रूपमा स्पष्ट पार्न चाहन्छुः म संसदीय (पदको) राजनीतिबाट टाढा रहनेछु तर यसको मतलब राजनीतिबाट बीचमै गायब भएको होइन। राजनीतिमा सक्रिय रहँदै, आफ्नो सिद्धान्त र एजेण्डालाई निरन्तर अगाडि बढाउँदै, जनताको लागि निरन्तर संघर्ष गर्दै जनताको सेवामा रहने नै छु। साथै, जनमत पार्टीलाई आउँदो स्थानीय र प्रदेश निर्वाचनको लागि तैयारी गराउन प्रतिबद्ध छु। म सदैव तपाईंहरूको बीचमा नै रहनेछु, हरेक मोर्चा र संघर्षमा तपाईंहरूसँगै खडा हुनेछु,अधिकार र पहिचानको लडाईँमा सदैव भूमिका निर्वाह गर्नेछु।’