काठमाडौं, २ चैत्र । स्वतन्त्र राजनीतिज्ञ ऋषि धमलाले प्रधानमन्त्री सुशीला कार्कीले जाँदाजाँदै आफ्नै पिए आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष बनाउने विवादित निर्णय गरेको भन्दै तत्काल ती निर्णयबाट ब्याक हुन सुझाव दिएका छन् ।
जेनजी विद्राहपछि संकटको बेलामा मुलुकको नेतृत्व गरेर सफलतापूर्वक निर्वाचन सम्पन्न गरेर प्रशंसा कमाएकी प्रधानमन्त्रीले अब बिदाई हुने बेलामा भने गलत निर्णय गरेको भन्दै धमलाले आलोचना गरे ।
आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘म तपाईंको प्रशंसक हुँ, तर हिजोको निर्णयबाट तपाईंलाई धक्का लागेको छ। तपाईंको जुन स्वच्छ छविको व्यक्तित्वमाथि प्रश्न उठेको छ। यो निर्णय सच्याउनुहोस । आदर्श श्रेष्ठलाई नियुक्त गर्नुपर्ने थिएन ।’
उनले प्रधानमन्त्री कार्कीको हिजो निर्णय विवादमा परेको स्मरण गराए । उनले भने,‘प्रधानमन्त्रीज्यू, तपाईंले संकटको बेलामा देशको नेतृत्व गर्नुभयो, चुनाव पनि गराउनुभयो । लोभ नगरेको भए हुन्थ्यो, तपाईं कसरी चुक्नुभयो ?’
उनले गृहमन्त्री ओमप्रकाश अर्याललाई निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गरेकोमा धन्यवाद ज्ञापन गरे । तर, सांसद पदको लागि लोभ गरेको भन्दै धमलाले उनको पनि आलोचना गरे । उनले भने,‘तपाईंजस्तो व्यक्तित्वले पनि राष्ट्रिय सभामा जाने निर्णय गर्नुभयो, त्यो पनि गलत भयो । गृहमन्त्रीको रुपमा चुनाव गराउनुभयो, तपाईं फेरि राष्ट्रिय सभामा एउटा सांसद पदको लोभ नगरेको भए हुन्थ्यो । तपाईंपनि चुक्नुभयो । तपाईंजत्तिको काबिल मान्छेले पदको लोभ नगरेको भए हुन्थ्यो ।’
सो क्रममा उनले रास्वपाका सभापति रवि लामिछानेले क्लिनचिट पाउन लागेको सूचना साझा गरे । उनले भने,‘रास्वपाका सभापति रवि लामिछानेजीले आज क्लिनचिट पाउँदै हुनुहुन्छ । अब उहाँलाई सांसद भएर सदनमा जान अदालतले ढोका खोलिदिने भएको छ ।’ उनले रास्वपाका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री बन्ने निश्चित् भएको भन्दै नयाँ सरकारलाई सबै दलले साथ दिनुपर्ने बताए । उनले भने,‘अब बालेन शाहको विकल्प नखोजे हुन्छ, दलहरुले पनि खुलेर प्रशंसा गर्नुपर्छ । विपी कोइरालापछि यति धेरै जनमत कसैले प्राप्त गरेको छ भने त्यो बालेन शाह हो ।’
तर, नेपालको इतिहासमा कुनैपनि सरकारले पाँच वर्ष काम गर्न नपाएको स्मरण गराउँदै धमलाले अब बन्ने प्रधानमन्त्री बालेन शाहले पाँच वर्ष काम गर्न पाउनुपर्ने मत राखे । उनले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम हुनुपर्ने बताए । उनले भने,‘अब वडा सदस्यदेखि सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सम्पत्ति छानबिन गर्नुपर्छ । अब बन्ने सरकारले हिम्मत गर्नैपर्छ ।’
हालै सम्पन्न भएको निर्वाचनमा रौतहट–४ बाट उम्मेदवार बनेका धमलाले आफू मधेशको एजेण्डा बोकेर चुनावी राजनीतिमा गएको स्मरण गराए । उनले भने,‘म मधेश बनाउनको लागि राजनीतिमा गएको मान्छे हुँ । चुनावी अभियानमा ५२ जनाको उपचार गराएँ । म मधेशको सेवा गर्न चाहन्छु । मधेशमा थुप्रै समस्या छन् । यहाँ बयान गरेर साध्य छैन ।’
धमलाले पहिला भ्रष्टाचारीलाई जेल हाल्नुपर्ने भन्दै अबको सरकारको पहिलो र अनिवार्य शर्त भनेको सुशासन हुनुपर्ने बताए । उनले भने,‘अब पहिलो एजेण्डा भनेको विकास र समृद्धि पनि हो । युवाहरुलाई रोजगारी दिलाउनुपर्छ । सबै दल मिल्नुपर्छ । अब ऋषि धमला सडकको नेताको रुपमा आउनेछ । क्याविनेटमा पनि राम्रो मान्छे आउनुपर्छ । मिडियाले प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्छ ।’




प्रतिक्रिया