रवि लामिछानेलाई कांग्रेस नेताको सुझाव : महान्यायाधिवक्ताको कार्यालयबाट होईन, कानूनी रीत पुर्याएर सफाई पाउनुहोस (भिडिओ–सहित)


काठमाडौं, २ चैत्र । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मिन विश्वकर्माले रास्वपाले निर्वाचनमा अनपेक्षित सफलता हात पारेको बताएका छन् । उनले भने,‘रास्वपाले पनि अपेक्षा नगरेको सफलता प्राप्त गरेको छ। निर्वाचनको क्रममा रास्वपाका साथीहरुले पनि एक सय कटाउने मात्रै भनेर भाषण गर्नुभएको थियो । सोचेको भन्दा बढि प्राप्त गरेको छ । कांग्रेस, एमाले र नेकपाले सोचेको भन्दा कम ल्याएको छ । रास्वपाले जे मत प्राप्त गरेको छ, हामी पनि प्रक्रियामा पनि सामेल भएको कारण परिणामलाई स्विकार गर्दै रास्वपालाई हृदयदेखि नै धन्यवाद र बधाई भन्न चाहन्छु।’

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले रास्वपाले भ्रष्टाचार अन्त्य गर्छु भनेर भनेको स्मरण गराउँदै अब भ्रष्टाचार अन्त्य गर्नुपर्ने बताए । उनले भने,‘रास्वपाले जादुको छडीजस्तो छु मन्तर गर्छु भनेका छ । अब त्यो हेर्नुपर्ने छ । नेपालको निर्वाचनको इतिहासमा मनोनयन गर्दा अदालतमा धरौटी बुझाएर निर्वाचन आयोग गएको कुनैपनि उम्मेदवार भेटेको छैन । अब सुशासन के गर्नुहुन्छ ? मेरो चाहीँ प्रश्न छ- रवि लामिछानेबाटै सुरु गरेर देखाओस, महान्यायाधिवक्ताको कार्यालयबाट होईन, कानूनी रित पुर्याएर सफाई पाउनुहोस । रास्वपाको पहिचान के हो ? विभिन्न पार्टीबाट एसेम्बल भएर आएकाहरुको पार्टीले गर्छ के ?’

सो क्रममा उनले कांग्रेस नफुटेको जिकिर गरे । अहिले पार्टीको आधिकारिकता कसको भन्ने कुरो अदालतले टुँगो लगाउने उनको भनाई छ । विश्वकर्माले भने, ‘हामीले विशेष महाधिवेशनलाई स्वीकारेका छैनौँ। हामीले निर्वाचनमा सहकार्य गरेका हौँ। तर १४ औँ महाधिवेशनबाट आएको कार्यसमितिले विशेष महाधिवेशनलाई चिन्दैन। हामी न्याय माग्दै अदालतमा गएका छौं । आधिकारिकतामा दुवै पक्षको दाबी छ । विशेष महाधिवेशनले गगन थापालाई सभापति भनेको छ, तर १४औं महाधिवेशनले त शेरबहादुर देउवालाई सभापति र पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति मानेको छ । अदालतबाट आउने फैसलाको हामी सम्मान गर्छौं ।’