रास्वपालाई कांग्रेस नेता श्याम घिमिरेको सुझाव : प्रतिशोधको राजनीति नगर्नुहोस्, दुई तिहाई आयो भनेर नमात्तिनुहोस (भिडिओ–सहित)


काठमाडौं, ३ चैत्र । नेपाली कांग्रेसका प्रभावशाली नेता श्याम घिमिरेले यो निर्वाचन परिणाम आफूहरुको पक्षमा नआएको कुरालाई आफूहरुले स्वीकारेको बताएका छन् । उनले चुनावमा आफूले पनि प्रभावकारी भूमिका खेलेको स्पष्ट पारे ।

आज (मंगलबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार खेम बमसँगको कुराकानीमा उनले आफू पार्टीलाई जिताउनको लागि लागेको बताए । सभापति शेरबहादुर देउवा त विरामी भएर सिंगापुर गएकोले सो विषयमा देउवासँग नै सोध्नुपर्ने उनको भनाई छ । उनले केही नेताहरुको गुनासो हुनु बेग्लै कुरा भएपनि पार्टीलाई मत नदेउ भनेर कसैलेपनि भूमिका नखेलेको दाबी गरे ।

जेनजी आन्दोनलपछि लगत्तै विशेष महाधिवेशनको लागि हस्ताक्षर अभियान सुरु भएकोले निर्वाचनको अघिल्लो दिनसम्म पार्टी झगडामा फसेको र पार्टीभित्र तिक्तता बढेको घिमिरेको भनाई छ । आन्तरिक विवादको कारण नै निर्वाचनमा पार्टीलाई ठूलो धक्का लागेको उनको जिकिर छ । उनले भने,‘अब दन्दबझान गरेको हुँदैन, जे हुनु भइसक्यो । अहिले पनि दुई वटा केन्द्रीय समिति छ, दुवैलाई एउटै बनाएर जानुपर्छ । महाधिवेशन तयारी समिति भनेर एउटा बनाउँ, पार्टीलाई पहिला एकीकृत बनाउनुपर्छ । पार्टीको संरचनागत रुपमा पनि अघि बढ्नुपर्छ ।’ उनले अहिले नीति र संरचनालाई परिवर्तन गरिनुपर्नेमा जोड दिए । उनले अबको महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने विश्वास दिलाए ।

उनले रास्वपालाई दुई तिहाई बहुमतको सुविधा भएकोले राम्रो कामको लागि शुभकामना दिए । देशको अर्थ नीतिलाई राम्रो ढंगले अघि बढाउन र सन्तुलित कुटनीतिलाई अघि बढाउनको लागि पनि उनले रास्वपा नेतृत्वलाई शुभकामना दिए । उनले रास्वपालाई राम्रो कामको लागि आफूहरुको सहयोग रहने विश्वास दिलाए ।

उनले भने,‘उहाँहरुले अब प्रतिशोधको राजनीति नगर्नुहोस, हाम्रो दुई तिहाई आयो भनेर नमात्तिनुहोस । उहाँहरुले संयम र धैर्यतापूर्वक ढंगले अघि बढ्नुहोस । जनताले ठूलो अभिमत दिनुभएको छ, यो भनेको चूनौति पनि हो ।’