हावाहुरी पीडित रौतहटवासीप्रति ऋषि धमलाको सहानुभूति, तत्काल राहत उपलब्ध गराउन माग


काठमाडौं, ४ चैत्र । ऋषि धमलाले हिजो राति आएको हावाहुरीको कारण रौतहटवासी पीडामा रहेको भन्दै सहानुभूति प्रकट गरेका छन् । उनले हावाहुरीको कारण पीडामा परेका जनतालाई तत्काल राहत दिनको लागि पनि माग गरेका छन् ।

आज एक भिडिओ जारी गर्दै उनले चन्द्रपुर नगरपालिकाका वडा नम्बर २, ३ र ४ मा सोमबार राति आएको हावाहुरीको कारण केराबारी, तरकारी र मकैलगायतका अन्नबाली नष्ट भएको भन्दै तत्काल उनीहरुलाई राहत प्रदान गर्न आग्रह गरेका हुन् । उनले प्रदेश र संघीय सरकारलाई पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउनको लागि आग्रह गरेका छन् ।

उनले कृषिमन्त्रीलाई पनि तत्काल आवश्यक सहयोग गर्नको लागि अपिल गरे । उनले भने,‘किसानहरुको अहिले ठूलो क्षति भएको छ । किसानहरु रोएका छन् । उहाँहरु अहिले ठूलो पीडामा हुनुहुन्छ । आम्दानीको स्रोत नै नष्ट भएको छ । रौतहटका किसान ठूलो समस्यामा छन् । मलखाद समयमा पाउँदैनन् । म पनि किसानको लागि काम गर्नेछु । छिट्टै पुग्नेछु । अब किसानहरुको समस्या समाधान गर्न के के गर्न सकिन्छ भनेर लाग्नेछु । म भोलि नै रौतहट जानेछु । म किसानलाई न्याय र राहत दिनेछु ।’